१८ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसमा ‘एकता अभियान’ सुरु, शीर्ष नेतृत्वलाई मतभेद अन्त्य गर्न युवा नेताहरूको दबाब

नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्। काठमाडौंको बानेश्वरमा आइतबार आयोजित भेलापछि उनीहरूले ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ भन्ने नारासहित अभियानको औपचारिक घोषणा गरेका हुन्।

अभियानको घोषणा गर्दै नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लामो समयदेखि पार्टीभित्र बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोले कांग्रेसको संगठनात्मक शक्ति कमजोर बन्दै गएको बताए। उनका अनुसार नेपाली कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणको चरणबाट गुज्रिरहेको छ।

उनले कांग्रेसको एकता केवल पार्टीभित्रको विषय नभई लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्थायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको दायित्व भएको उल्लेख गरे। महरले नेपालको राजनीतिक इतिहासले कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने र पार्टी विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने अवस्था सिर्जना हुने तथ्य पटक–पटक पुष्टि गरेको बताए।

देश अहिले अनेकौं चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उनले सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नागरिकले ज्यान गुमाउनुका साथै ठूलो धनसम्पत्तिमा क्षति पुगेको र सामाजिक सद्भावमा समेत आघात पुगेको बताए। यस्तै, आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो विदेश पलायन, सुशासनको संकट तथा जनजीविकासम्बन्धी समस्या झन् जटिल बन्दै गएको उनको भनाइ थियो।

कार्यक्रममा कांग्रेस नेता रञ्जित कर्णले देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेका बेला पार्टीभित्र विभाजनको राजनीति गर्न नहुने धारणा राखे। उनले जनताको मनोभावना र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए।

भेलामा सहभागी युवा नेताहरूले कांग्रेसभित्र संस्थापन र इतर समूहबीच देखिएको दूरी अन्त्य गरी साझा उद्देश्यका साथ अघि बढ्न शीर्ष नेतृत्वलाई आग्रह गरेका छन्। उनीहरूले पार्टी एकतामार्फत संगठनलाई सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय हितको रक्षा गर्न नेतृत्वलाई जिम्मेवार बन्नसमेत दबाब दिएका छन्।

 

प्रकाशित: १७ श्रावण २०८३ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App