१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

बालेन र सुधनलाई चेतावनी दिँदै महेश बस्नेतले भने- तिमीहरूको एक-एक हिसाब राखेका छाैं

नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्ना पार्टीका नेताहरूविरुद्ध राजनीतिक प्रतिशोध साँधिए त्यसको हिसाबकिताब एमालेले राख्ने चेतावनी दिएका छन्।

शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङमाथि आरोप लगाउँदै आलोचना गरेका हुन्।

एमाले नेता विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनेको भन्दै सचिव बस्नेतले आक्रोश व्यक्त गरे। चुन्नुप्रसाद पौडेलको बयानका आधारमा शशी पौडेलको नाममा रहेको ३५ बिघा जग्गा विष्णु पौडेलको भनिएको र करेन्ट सुर्ती तथा करेन्ट गुटखा उत्पादन गर्ने सिदाम टोबाको कम्पनीको ३० करोड रुपैयाँ बराबरको सेयर पौडेलको नाममा रहेको भन्दै फैलाइएको भ्रमप्रति उनले आपत्ति जनाए।

‘हाम्रा नेतामाथि प्रतिशोध साँध्ने काम भएको छ, यसको हिसाबकिताब हामी गर्नेछौं,’ उनले भने।

सम्बोधनका क्रममा सचिव बस्नेतले प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङलाई निसाना बनाए। हिजो आठ करोडको गाडी चढ्ने प्रधानमन्त्री बालेन अहिले अख्तियारको दायराबाट जोगिन मालपानीलाई चोख्याउने अभियानमा लागेको आरोप उनले लगाए।

त्यस्तै, हिजो दीपक भट्टसँग सेयर लिने गृहमन्त्री सुधन गुरुङ आज ढुक्कसँग हिँडेको र कुकर्म गर्नेहरू चाँडै बेपत्ता हुने दाबी समेत बस्नेतले गरे।

पार्टीको हालै सम्पन्न सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै बस्नेतले पार्टीले निर्वाचनको समीक्षा, पुनर्गठन र आगामी असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको बताए।

उनले यसै सन्दर्भमा पार्टीले ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गर्ने र नेता–कार्यकर्ता हुँदै आम जनतालाई विपक्षीका भ्रम चिरेर स्पष्ट पार्ने योजना अघि सारेको उल्लेख गरे।

एमाले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा हिँडेको पार्टी भएकाले यसले सैद्धान्तिक रूपमा आफूलाई सच्याउनुपर्ने ठाउँ नरहेको जिकिर गर्दै बस्नेतले गलत मान्यता बोक्नेहरूविरुद्ध वैचारिक लडाइँ जारी राख्ने बताए।

प्रकाशित: २० असार २०८३ १७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App