१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

निषेधको राजनीति बन्द गर्न सरकारलाई एमालेको चेतावनी

‘मुठभेड निम्त्याउने खेल स्वीकार्य छैन’

नेकपा (एमाले) ले सरकारलाई निषेध र प्रतिशोधको राजनीति बन्द गर्न चेतावनी दिएको छ।

बिहीबार बसेको पार्टीको ६०औँ सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार निर्वाचनको वातावरण बनाउनुको साटो एमालेलाई निषेध गर्ने र मुठभेड निम्त्याउने बाटोमा अग्रसर भएको आरोप लगाएका हुन्।

‘सरकार चुनावतिर होइन, प्रतिशोधतिर लाग्यो’

उपमहासचिव ज्ञवालीले सरकारले निर्वाचनको कार्यादेश पाएको भए पनि व्यवहारमा भने ठीक विपरीत चरित्र देखाइरहेको जिकिर गरे।

उनले भने, ‘सरकार निर्वाचनको वातावरण बनाउनतिर होइन, प्रतिशोध र निषेधको बाटो हिँडिरहेको छ भन्ने हाम्रो पूर्व निष्कर्षलाई हिजो सिमरामा भएको घटना र अन्य घटनाक्रमले पुष्टि गरेको छ।’

राजनीतिक दलहरूलाई गतिविधि गर्न रोक लगाउने, कार्यक्रम स्थल उपलब्ध नगराउने र नेताहरूलाई देशका विभिन्न भागमा निर्वाध रूपमा हिँडडुल गर्न नदिने जस्ता क्रियाकलाप सरकारले गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको हो।

‘नेताहरूलाई स्थान हद गर्ने र राजनीतिक गतिविधिमा भाग लिन नदिने यो हर्कत बिलकुलै उचित होइन,’ ज्ञवालीले भने।

एमालेले काठमाडौंमा आयोजना गर्न लागेको जनसभामा सरकार पक्षबाटै घुसपैठ र अवरोध हुन सक्ने आशंका व्यक्त गरेको छ।

सरकारले सुरक्षा दिनुको साटो उल्टै असुरक्षाको वातावरण सिर्जना गर्न खोजेको भन्दै एमाले आफैँ सतर्क रहने ज्ञवालीले बताए।

‘पछिल्ला घटनाक्रमहरू तीन ढंगले हामीलाई अवरोध गर्न खोजिएको देखिन्छ– कतिपय ठाउँमा मुठभेड गराउने, नेताहरूलाई गन्तव्यमा जान नदिने र घुसपैठ गराएर अवाञ्छित घटना घटाउने,’ ज्ञवालीले भने, ‘त्यसैले कार्यक्रमको र नेतृत्वको सुरक्षाका लागि हाम्रो स्वयंसेवक टोली पूर्ण रूपमा तम्तयार भएर बसेको छ।’

प्रकाशित: ४ मंसिर २०८२ २१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App