नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि सद्भाव र्याली सञ्चालन गरेको छ ।
देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव र्याली निकालिएको एमालेले जनाएको छ । र्यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको सहभागिता थियो ।

र्यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रीय नेता सूर्य थापा, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेता सहभागी थिए ।
संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश सद्भाव र्यालीमार्फत दिइएको एमाले अर्घाखाँचीले जनाएको छ ।
प्रकाशित: १० कार्तिक २०८२ १४:४५ सोमबार





