१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनका विषय पहिचान गर्न एमालेको उपसमिति सक्रिय

नेकपा एमालेले संविधान पुनरावलोकन तथा संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न गठित उपसमितिले संविधान संशोधनका लागि आवश्यक विषयहरूको पहिचान र सुझाव संकलनको कार्यविधिबारे छलफल गरेको छ।

पार्टीको संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठित उक्त उपसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सहभागी थिए। पूर्व कानुनमन्त्री माधवप्रसाद पौडेल विज्ञका रूपमा बैठकमा सहभागी भएका थिए।

बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ बनाउन संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने प्रक्रियाबारे छलफल भएको सदस्य सचिव महेश बर्तौलाले जानकारी दिएका छन्।

बैठकमा हालसम्मको संविधान कार्यान्वयनको अनुभव, प्राप्त उपलब्धि तथा व्यवहारमा देखिएका चुनौतीहरूको समीक्षा गरिएको थियो। साथै, संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा पनि विचारविमर्श भएको छ।

यसैगरी राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे समेत छलफल भएको जनाइएको छ।

उपसमितिले प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यलाई अघि बढाउने निर्णयसमेत गरेको एमालेले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०८३ १८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App