मन्त्रिपरिषद् बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना बुधबार सम्बोधन गरेन। सरकारले विभिन्न ५ निर्णय गर्दा देशैभर चासो भइरहँदा सरकार सुनसरी घटनामा मौन बसेको हो।
बैठकअघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति, सद्भाव र संयम कायम राख्न आह्वान गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले पनि मंगलबार सामाजिक सञ्जालमार्फत घटनाबारे धारणा सार्वजनिक गरेका थिए।
यद्यपि, मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले नियमित निर्णयहरू सार्वजनिक गरे पनि सुनसरी घटनाबारे कुनै जानकारी दिएनन्। सञ्चारकर्मीले यस विषयमा जिज्ञासा राख्दा उनले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को संवत् २०८३ साल साउन १३ गतेको बैठकका मुख्य निर्णयहरू:
१ देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने
(क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
(ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
(ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
(ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक
(च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक
(छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
(झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक
२ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
३ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
४ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा श्री खेट राज दाहाल, सिन्धुलीलाई मनोनयन गर्ने।
५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
प्रकाशित: १३ श्रावण २०८३ १८:५६ बुधबार





