फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बाँकेले तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीका नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट एक/एकजनाको नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्बर २ बाट तीनजनाको नाम सिफारिस भएको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालको नाम पुनः सिफारिस भएको छ । शनिबार क्षेत्र नम्बर १ कमिटीको छैठौं बैठकबाट उम्मेदवारका लागि उनको नाम एकलरुपमा सिफारिस भएको छ ।
यसभन्दा अघिको निर्वाचनमा पूर्वयुवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई पराजित गर्दै निर्वाचित भएका थिए । ढकाल २५ हजार २६ मत पाउँदा गहतराजले १९ हजार ६ सय ३२ मत ल्याएका थिए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, नेता कृष्णप्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस भएको छ । श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन भने पोख्रेल पत्रकार हुन् ।
त्यस्तै बाँके ३ मा एमालेबाट पूर्वमन्त्री दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ ।
प्रकाशित: १९ पुस २०८२ १८:१४ शनिबार





-600x400.jpg)