पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवारी दिएका उनले फिर्ता लिएका हुन्।
अन्य नेताहरूले कुनै पार्टी विशेषको नभएर साझा अभिभावक बनेर बस्न अनुरोध गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। उनी प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवार भएका थिए।
भट्टराईले विभिन्न काल खण्डमा आफूले नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेको र पार्टीमा पनि नयाँ नेतृत्वलाई अवसर दिएको कुरा स्मरण गराएका छन्।
उनले जेनजी आन्दोलनको मर्म अनुसार देशको आर्थिक विकासका लागि काम गर्ने पनि उल्लेख गरेका छन्। उनले अब कुनै पार्टी विशेषको नभई अभिभावक बनेर बस्ने र देशका लागि पनि स्पष्ट पारेका छन्।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकेको थियो।
निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
प्रकाशित: ९ माघ २०८२ १३:३१ शुक्रबार





