नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै सातै प्रदेशमा मिलेर अघि बढ्ने कसरतमा दुई वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समेत साथमा लिएर अघि बढ्ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्।
एमालेबाट प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापासहितका नेता प्रदेश सत्ता समीकरण गृहकार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान पुन, प्रमेश हमाललगायतले काम गरिरहेका छन्। एमाले र नेकपा एक÷दुई दिनभित्रै यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर सातै प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भने, ‘हामी छिट्टै एउटा समझदारीमा पुग्छौं।’
प्रदेश सत्ता सहकार्य विषयमा साउन ५ गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा कांग्रेस तयार नभएको ती नेता बताए।
कांग्रेस र एमालेबिच आलोपालो सत्ता सहकार्य गर्ने पूर्वसहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस छ भने कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्वमा एमाले छ। कांग्रेस–एमाले सहकार्य भत्किएपछि नेकपाले सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। तर एमाले बागमती, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने पक्षमा छैन।
कांग्रेसभित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट पेचिलो बन्न पुगेको थियो। एमालेसँगको सहकार्य संकटमा परेपछि नेकपाले कांग्रेसलाई साथ दिने आश्वासन दिएको थियो। कर्णालीमा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन नेकपा तयार भएको कांग्रेस नेताहरूको दाबी छ। तर वाम पार्टीका शीर्ष नेताहरू सातै प्रदेशमा सत्ता सहकार्यका लागि निकट भएसँगै प्रदेश तहको समझदारी भत्कने देखिएको छ।
कांग्रेसले पनि एमाले र नेकपासँग प्रदेशमा सहकार्यका लागि छलफल जारी राखेको जनाएको छ। सातै प्रदेशका सभापति र संसदीय दलका नेतासँग शुक्रबार सभापति गगनकुमार थापा, दुई उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरेसहितले छलफल गरेका छन्। छलफलमा प्रदेशअनुसारको अवस्था र आवश्यकता फरकफरक रहेको निष्कर्ष निकाल्दै सोहीअनुसार दलहरूसँग सहकार्यका लागि संवाद गर्नुपर्ने र गर्ने निष्कर्ष निकालिएको छ।
प्रकाशित: ९ श्रावण २०८३ ०८:१८ शनिबार



-600x400.jpg)

