नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम चलिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।
‘आज ५० जना केन्द्रीय सदस्यहरूले अध्यक्ष कमरेडले राख्नुभएको राजनीतिक प्रस्तावमा महत्वपूर्ण सुझाव दिनुभएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘जसमा अन्तरिम सरकारको गठन प्रक्रिया प्रतिनिधिसभाको विघटनका सन्दर्भमा पार्टीको धारणा, त्यसपछि सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन, निर्वाचनमा हाम्रो उपस्थिती के हुने? पार्टीले जनपरिचालन मार्फत गरिने कार्यक्रमबारे साथीहरूको बढी चासो छ।’
बैठकमा बोल्ने केन्द्रीय सदस्यले संविधान पक्षधर र लोकतन्त्र पक्षधर शक्तिहरूको सहकार्य आवश्यक रहेको बताएको पनि गौतमले जानकारी दिए।
‘खासगरी सरकारको वैधता सवाल, सरकार निर्माणमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले उहाँले दिएको सुझावका सवाल, जसमा उहाँलाई विवादित बनाइएको छ,’ उनले भने, ‘संविधानसम्मत्, लोकतान्त्रिक, दलहरूको सहमतिको आधारमा सरकार गठनका निम्ति तत्कालीन कामचलाउ प्रधानमन्त्रीको हिसाबमा उहाँले दिएका सुझाव तोडमोड गरिएकामा उहाँको आपत्ती छ। प्रतिवेदनमा छ, केन्द्रीय सदस्यको चासो छ।’ यस्तै जेन–जीले उठाएका मुद्दाका सकारात्मक सवालबारे पनि केन्द्रीय सदस्यले चासो व्यक्त गरिरहेको उनले बताए।
भोलि फेरि ८ बजे बैठक सुरु हुने गौतमले जानकारी दिए। ‘केन्द्रीय सदस्य बोल्ने क्रम भोलि पनि जारी रहन्छ। ३६० जना मान्छेले बोल्नुपर्ने सबैलाई तीन मिनेटको समय त्यसमा राख्न नसकेको कुरा लिखित रुपमा राख्ने व्यवस्था गरिएको छ,’ गौतमले भने।
प्रकाशित: २९ आश्विन २०८२ १८:३० बुधबार





