२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसद्‍मा पार्टीको भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, ओलीले प्रशिक्षण दिने

नेकपा एमालेले पार्टीको भूमिकालाई संसद्‍मा प्रभावकारी बनाउन आज सांसदहरूसँग अन्तरक्रिया गर्दैछ।

पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्‍मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन्।

अर्यालका अनुसार संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन्। उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिने छन्।

यसैगरी, पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने अर्यालले बताइन्। उनका अनुसार हरेक सांसदले पार्टी नीति अनुरूप संसद्‍मा भूमिका निर्वाह गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्ने छन्। 

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ। सम्बन्धित विभागहरूले विषय विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयवस्तुहरूमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ।

कार्यक्रममा दुवै सदनका सांसदहरू सहभागी हुने छन्।

प्रकाशित: ३ श्रावण २०८३ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App