६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनको तुस टिकट वितरणमा पोखियो

नेकपा एमालेले ११औं महाधिवेशनमा केपी ओलीको विपक्षमा उभिएका नेताहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न छेकबार लगाएको छ। महाधिवेशनमा अध्यक्ष पदमा ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेललाई समर्थन गरेका केन्द्रीय नेताहरुलाई पन्छाएर नेतृत्वले प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार छनोट गरेको हो। महाधिवेशनको तुस मेट्न जिल्लाका सिफारिसलाई समेत बेवास्ता गर्दै भूगोलमा भएका नेताहरुलाई उम्मेदवारको टिकटबाट वञ्चित गरिएको छ।

सचिवालय बैठकले शनिबार १४० निर्वाचन क्षेत्रमा उम्मेदवार तोक्दा महाधिवेशनमा पोखरेल समूहमा रहेका नेताहरुलाई मात्र होइन, ओली समूहमै रहेका र भूगोलमा राम्रो सम्भावना भएका नेताहरुलाई पनि टिकटबाट वञ्चित गरेपछि नेता–कार्यकर्तामा असन्तुष्टि पैदा भएको छ।

एमालेले यसपटक नयाँ अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरे पनि भूगोलमा कुनै जिम्मेवारी बहन नगरेका र नचिनिएका अनुहारलाई उम्मेदवार तोकेपछि असन्तुष्टि पैदा भएको हो। ओली पक्षकै निरु पाल, किरण पौडेलले पनि टिकट पाएका छैनन्। निरज शाही र विष्णु रिजाल पनि टिकटबाट वञ्चित भएका छन्। भूगोलको मतदानमा सबैभन्दा बढी मत प्राप्त नेता हुन् रिजाल। रिजालले सामाजिक सञ्चालनमा आफूले पार्टी कार्यकर्ताको मन जिते पनि नेताहरुको मन जित्न नसकेको गुनासो पोखेका छन्। अघिल्लो पटकको निर्वाचनमा मोरङमा हारेका भानुभक्त ढकाललाई अहिले तेह्रथुमबाट उम्मेदवार बनाइएको छ। तेह्रथुमका विजय सुब्बालाई रोक्न ढकाललाई त्यहाँबाट उम्मेदवार बनाउने निर्णय सचिवालय बैठकले गरेको स्रोतका दाबी छ।

महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका पोखरेल, उनको समूहबाट महासचिव र उपाध्यक्षको उम्मेदवार बनेका क्रमशः सुरेन्द्र पाण्डे र परशुराममेघी गुरुङले पनि टिकट पाएनन्।

त्यस्तै विन्दा पाण्डे र अरुण नेपालले पनि टिकट पाएनन्। पदाधिकारीमा पोखरेल समूहबाट उपाध्यक्षमा जितेका गोकर्ण विष्टले मात्रै टिकट पाएका छन्। पोखरेल समूहबाट उपमहासचिव निर्वाचित योगेश भट्टराईको निर्वाचन क्षेत्र ‘होल्ड’ मा राखिएको छ।

 उपमहासचिव लडेका बैजनाथ चौधरीले पनि टिकट पाएनन्। पोखरेल पक्षका रचना खड्का, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल पनि टिकट पाउने सूचीमा छैनन्। गोकुल बाँस्कोटाको क्षेत्र काभ्रे २ मा टिकट ‘होल्ड’मा राखिएको छ। बाँस्कोटालाई महाधिवेशनमा ओलीको विपक्षमा लागेकै कारण रोक्न खोजिएको हो। गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेललाई टिकट दिने निर्णय शनिबार भए पनि आइतबार उनले यसअघि लड्दै आएको निर्वाचन क्षेत्र रुपन्देही २ मा सारिएको छ।

त्यस्तै पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, महेश बस्नेत (इलाम), जय राई, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, नवराज सिलवाल, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन्। झापाका एलपी सावाँको क्षेत्रमा मनोज ताम्लिलाई उम्मेदवार बनाउने निर्णय शनिबार भए पनि त्यसमा संशोधन गरी त्यहा साँवालाई नै टिकट दिइएको छ।

एमालेमा घोषित मापदण्डविपरीत टिकट वितरण गरिएको छ। एमाले ओखलढुंगाले मापदण्डविपरीत केन्द्रले उम्मेदवार तोकेको भन्दै चुनावमा सहभागी हुन नसक्ने जनाएको छ।

एमालेद्वारा घोषित उम्मेदवारमध्ये नौ जना महिला छन्। कतिपय चुनाव जित्ने क्षेत्रमा विपक्षीलाई सहयोग हुनेगरी उम्मेदवार तोकेको आरोप नेतृत्वमाथि लागेको छ। एमालेले पूर्वमन्त्री भगवती चौधरी, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, भगवती न्यौपाने र विमला विकलाई उनीहरूकै गृहजिल्ला र क्षेत्रबाट उम्मेदवार बनाएको छ। चौधरी सुनसरी ४, महतो धनुषा ३, साह बारा ३, न्यौपाने तनहुँ १ र विक बर्दिया २ बाट उम्मेदवार बनेका छन्।

यस्तै कञ्चनपुर १ मा कमला बोहोरा, बागलुङ २ मा मञ्जु शर्मा चालिसे, ओखलढुंगा २ मा अस्मिता थापा र सोलुखुम्बुमा कल्पना राईलाई उम्मेदवार तोकिएको छ।

एमालेले गोरखा २ मा ‘गुण्डागर्दी’ पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाएको छ। गोरखा २ बाट अघिल्लो चुनावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी बनेका थिए। गोखा २ मा नेपाली कम्युनिस्ट पार्टीले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ। त्यहाँ रास्वपाले कविन्द्र बुर्लाकोटी उम्मेदवार बनाउने तयारी गरेको छ।

निर्णयमा ‘नोट अफ डिसेन्ट’

उम्मेदवार छनोटमा विभेद भएको भन्दै एमाले उपमहासचिव योगेश भट्टराईले लिखित रुपमै अहसमति राखेका छन्। सचिवालय बैठकमा टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव भट्टराईले आइतबार पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन्।

उम्मेदवारी चयनमा भएको विभेदप्रति बैठकमै असहमति जनाउँदै भट्टराईले ‘नोट अफ डिसेन्ट’ लेख्ने बताएका थिए। सोहीअनुसार, उनले पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन्।

स्रोतका अनुसार उनले बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन्। टिकट वितरणमा मापदण्ड नमिलेको, उम्मेदवारमा छान्दा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएकोलगायतका विषय उठाएर उनले नोट अफ डिसेन्ट लेखेका हुन्।

भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा पनि उम्मेदवार टुंगो लगाइएको छैन। यस विषयमा उनले सामाजिक सञ्जालमार्फत समर्थकहरुलाई विचलित नहुन अपिल गरेका छन्। ‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्छु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्छु,’ भट्टराईले लेखेका छन्, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’

प्रकाशित: ५ माघ २०८२ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App