२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : प्रतिनिधि छनोटमा हारेका मन्त्री, सांसद र जनप्रतिनिधि

नेकपा (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति विभिन्न क्षेत्रबाट प्रतिनिधिहरू छानिएका छन्। यहीँ मंसिर २७ देखि २९ गतेसम्मका लागि हुने महाधिवेशनका लागि कतै सहमति हुन सक्यो भने कतै हुन सकेन। सहमति हुन नसकेका स्थानहरूमा निर्वाचन भयो।  

यसपटक प्रतिनिधिका लागि भएको उक्त निर्वाचनमा फरक अभ्यास भएको छ। यस पटक ‘हेविवेट’ भएकाहरूले नै प्रतिनिधि छनौटमा हार व्यहोरेका छन्। सोही क्रममा प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा पराजित भएका छन्। 

उनी काठमाडौं–४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका थिए। खुल्लाबाट दुईजना निर्वाचित हुनुपर्नेमा उनी तेस्रो भएका हुन्। उनले २०१ मत पाए। खुल्लामा श्रीकृष्ण श्रेष्ठले २४१ र उद्धव खरेलले २१२ मत ल्याएर निर्वाचित भए। खरेल बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर हुन्। पराजित थापा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय मानिन्छन्। काठमाडौं–४ एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको क्षेत्र हो।

यो क्षेत्र पूर्वराष्ट्रपति विद्या भण्डारीको निर्वाचन क्षेत्र समेत हो। जहाँ संस्थापन इतरको बाहुल्यता छ। विगतमा पूर्वराष्ट्रपतिका स्वकीय सचिव रहेका बद्री भट्टराई पनि पराजित भए। काठमाडौं–४ मा उनी खुलाबाट उम्मेदवार बनेका थिए। भण्डारी अध्यक्ष बन्ने परिस्थिति नभएको भन्दै कित्ता परिवर्तन गरेपछि उनी पराजित भएको निकटस्थ नेताहरू बताउँछन्। त्यस्तै, ओलीका आधिकारिक उम्मेदवार राजन पोखरेल पनि पराजित भएका छन्।

त्यस्तै, कोशी प्रदेश सभाका दुई सदस्य पनि पराजित भएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा कोशी प्रदेश सभाका सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राईले हार व्यहोरेका हुन्। त्यहाँबाट खुलातर्फ आशाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निर्वाचित भए। निर्वाचित सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरे। पराजित बस्नेतले ३७६ र राईले ३९१ मत प्राप्त गरेका छन्। उनीहरू दुवैजना सुनसरी–१ अन्तर्गतका दुई प्रदेशसभा क्षेत्रबाट निर्वाचित सदस्य हुन्। बस्नेतले सुनसरी क्षेत्र नम्बर–१ ‘क’ र राईले ‘ख’बाट प्रतिनिधित्व गर्छन्।

यस्तै, कोशीका मुख्यमन्त्री तथा एमाले नेता हिक्मतकुमार कार्कीका सल्लाहकार र स्वकीय पराजित भएका छन्। मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी क्षेत्र नम्बर १ बाट र झापा क्षेत्र नम्बर ५ बाट मुख्यमन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेल पराजित भएका हुन्। दुवै जना युवा कोटामा उम्मेदवार बनेका थिए।

त्यस्तै, रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल पनि पराजित भएकी छन्। मल्लको पक्षमा १११ मत मात्रै खसेको थियो। महिला तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी भए। कौशिलाले २०४ र हिमकुमारीले २०३ मत पाए। त्यस्तै, मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल नै पराजित भएका छन्। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ तर्फबाट खुला सदस्यमा उम्मेदवार बनेका थिए। ३३४ मत प्राप्त गरे।

यसै समूहतर्फ पूर्वराष्ट्रियसभा सदस्य रामचन्द्र राई पनि प्रतिनिधि छनोट हुनबाट चुके। उनले ३०२ मत प्राप्त गरे। पराजित मकवानपुर अध्यक्ष पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिन्छन्। त्यस्तै, अर्घाखाचीको शितगंगा नगरपालिकाका उपप्रमुख समेत रहेकी गीता भाट क्षेत्री पराजित भइन्। महिलातर्फ निर्वाचित हुनेमा दीपा आचार्य, सुष्मा श्रेष्ठ, विष्णुमाया आचार्य र लक्ष्मी गौतम प्रतिनिधि चुनिएका छन्।

यस महाधिवेशनमा सात प्रदेश, जिल्ला, केन्द्रीय विभाग, जनसंगठन, प्रवास, विशेष जिल्ला, सम्पर्क समन्वय कमिटी, मजदुर फाँट, केन्द्रीय कार्यालयलगायत अधिकांश क्षेत्रबाट प्रतिनिधि छनोट भएका छन्।

एमाले त्याग

यस महाधिवेशनमा प्रतिनिधि छनौट हुन नपाएपछि केहीले एमाले पार्टी नै परित्याग गरेका छन्। यसरी पार्टी परित्याग गर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द हुन्। उनले महाधिवेशनमा प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरे। 

उनले सामाजिक सञ्जाल (फेसबुक)मा एक स्टाटस लेखेर पार्टी छाडेको जानकारी दिएका थिए। आफूलाई प्रतिनिधि छनोट गर्नबाट वञ्चित गरिएको भन्दै फेसबुकमा उनले बैतडीबाट प्रतिनिधित्व गर्ने एमाले नेता दामोदर भण्डारी र लीलाधर भट्टको आलोचना समेत गरेका छन्। पञ्चेश्वर गाउँपालिकामा चन्द दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए।

आठ जिल्लामा समस्या

यस पटकको एमालेको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा आठ जिल्लामा समस्या देखिएको छ। निर्वाचन समितिका अनुसारका ओखलढुङ्गा, धनकुटा, तनहुँ, दाङ, बाँके, बझाङ, रौतहट र बारामा समस्या देखिएको हो। प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी समेत गरिएको थियो।

महाधिवेशनका लागि करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका छन्। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट भएका छन्। 

यसैगरी, केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ भने अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्‍बाट २५ जना प्रतिनिधि गरी जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुने एमालेले जनाएको छ। 

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित काठमाडौंमा ११औं महाधिवेशन गर्ने निर्णयअनुसार प्रतिनिधि छनोट गरेको हो।

प्रकाशित: १६ मंसिर २०८२ २१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App