२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन: एक फन्को

नेकपा एमालेको ११औं महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन हुँदैछ। काठमाडौंमा सवारी जाम हुने र कार्यकर्ता तथा शुभचिन्तकहरुको संख्या ठुलो हुने भएकाले उद्घाटनसभा भक्तपुर सारिएको हो।

एमालेको जीवनमा सबैभन्दा बढी प्रश्न उठेको र पार्टी अध्यक्षले नेतृत्व गरेको सरकार अपदस्थ भएको केही महिनापछि ११औं महाधिवेशन हुन लागेको छ। नवौं र दसौं महाधिवेशनबाट अध्यक्ष भएका केपी ओली तेस्रो पटक पनि अध्यक्ष हुने ध्याउन्नमा छन्। यसपटक ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदैछन्। पार्टीका अन्य नेताले पनि ओलीलाई अध्यक्ष छाडेर अभिभावक बन्न सुझाव दिइरहेका छन्। नेताहरुले चुनौती दिन थालेपछि ओलीले ११औं महाधिवेशनपछि केही नेताहरुले एमाले छाडेर जाने र केही नेता आउने भविष्यवाणी गरेका छन्।

वास्तवमा महाधिवेशनपछि पार्टीको सांगठानिक जीवन स्वस्थ र सहज हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन। जित्नेले पेल्ने र पेलिनेचाहिँ पार्टी छाडेर बाहिरिने वा बहुमतको निर्णय मानेर बस्नुबाहेक अर्को विकल्प देखिएको छैन। पहिलो महाधिवेशनदेखिकै इतिहास हेर्ने हो भने यो तथ्य दस्ताबेजीकरण भएको देखिन्छ।

पार्टी स्थापनाअघि

पुष्पलाल श्रेष्ठअघि कलकत्तामा अध्ययनरत केशरजंग रायमाझी २००२ सालतिर नै भारतीय कम्युनिस्ट पार्टीको सदस्य भएका थिए। भारतीय कम्युनिस्ट नेता रत्नलाल ब्राह्मणको संगतमा रहेका रायमाझी नेपाली विद्यार्थीबिच ‘प्रगतिशील अध्ययन समूह’ चलाउँथे। यसक्रममा भारतमै रहेका मनमोहन अधिकारीको भिन्नै धार थियो। बनारसमा पढेर फर्केका अधिकारी विराटनगर जुट मिलमा कर्मचारी थिए।

बनारसमा रहँदा भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिएका अधिकारी पुष्पलालभन्दा अघि नै भारतीय कम्युनिस्ट पार्टीको सदस्य भएका थिए। चर्चित विराटनगर जुट मिल हड्तालपछि अधिकारीलाई गिरफ्तार गरी हिँडाएरै काठमाडौं ल्याइएको थियो। कम्युनिस्ट पार्टी स्थापनाको गर्भमै पुष्पलाल, केशरजंग र मनमोहनको फरकफरक लाइन थियो। पार्टी संस्थापक बन्ने हतारोमा पुष्पलालले राम्रो सरसल्लाह र समन्वय नगरेका कारण उनीसँग केशरजंग र मनमोहन चिढिएका थिए।

पहिलो महाधिवेशनअघि

पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्कीले नेपालमा कम्युनिस्ट पार्टी खोल्ने तयारी गरिरहेका थिए। पार्टी खोल्न छलफल हुँदाहुँदै पुष्पलालले उनीहरुलाई थाहै नदिईकन अन्य चार साथीलाई भेला गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको घोषणा गरे।

२००६ साल वैशाख १० (सन १९४९ अप्रिल २२) गते नेपालको कम्युनिस्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी (दुर्गा) श्रेष्ठ नेकपाका संस्थापक हुन्। पार्टी निर्माण (गठन) भएको ५ महिनापछि औपचारिक घोषणा २००६ भदौ ६ गते (१५ सेप्टेम्बर १९४९) भएको थियो।

औपचारिक घोषणामा नरबहादुर, निरञ्जन, नारायण विलास र मोतीदेवीको नाम संस्थापकमा उल्लेख गरिएन। पुष्पलाल, मनमोहन, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार, डिपी र अयोध्या सिंहको नाम मात्र राखिएको थियो। जसमा पुष्पलाललाई महासचिव उल्लेख गरिएको थियो। त्यसबेला अन्य चार जनालाई किन राखिएन भन्ने प्रश्न कही कतै उठाएको पाइएको छैन।

पहिलो महाधिवेशन

नेकपाले २००८ असोज ११ देखि १६ गतेसम्म (६ दिन) भारतको कलकत्तामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरी जनवादी कार्यक्रम पारित गरेको थियो। प्रथम सम्मेलनबाट पुष्पलाल महासचिवमा चयन भए। पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन, तुल्सीलाल, शैलेन्द्रकुमार र भाइसाहेब भन्ने अर्का एक थिए।

पछि त्यसमा शम्भुराम श्रेष्ठलाई पनि थपियो। पुनः समितिमा केदार खनाल, धनुषचन्द्र गौतम र विजयकुमार दादालाई समावेश गरियो। मनमोहनको ‘नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो’ नामको कार्यक्रमिक दस्ताबेज पारित भयो। पुष्पलालको नेतृत्वमा केन्द्रीय संगठन कमिटी गठन गरियो। तर सम्मेलन सकिएको केही महिनामै महोत्तरीको बटेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकले पुष्पलाललाई हटाएर मनमोहनलाई महासचिव निर्वाचित गर्‍याे।

२००८ सालमा नै मनमोहनले पुष्पलाललाई हटाइको आरोप छ। नेकपाको पहिलो महाधिवेशन ३० जनवरी १९५४ तदनुरूप २०१० माघ १७ मा भूमिगत रूपमा पाटनमा उद्घाटन भई काठमाडौं र पाटनमा गरी ९ दिनसम्म चलेको थियो। महाधिवेशनबाट मनमोहन महासचिवमा चयन भए। उनी महाधिवेशनबाट निर्वाचित प्रथम महासचिव हुन् भने पुष्पलालचाहिँ संस्थापक महासचिव हुन्।

२०१३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन महासचिव मनमोहनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल चीन गएपछि नेकपाको नेतृत्व केशरजंगको हातमा गयो, उनी पार्टीको कार्यवाहक महासचिव बने।

नेकपाभित्र नेतृत्व तहमा सुरू भएको गुटबन्दी र चीन भ्रमणमा जाने विषयमा तीव्र विवाद भएका कारणले पनि त्यो स्थिति उत्पन्न भयो। केशरजंगले पार्टी नेतृत्व कब्जा गरेपछि पार्टीलाई वैधानिक संघर्षमा अघि बढाउने उद्देश्यले ‘पार्टी कार्यक्रममा परिवर्तन किन ?’ भन्ने दस्ताबेज अघि सारे। त्यो दस्ताबेज अत्यन्त विवादित बन्यो। त्यसबाट कम्युनिस्ट आन्दोलनमा प्रकट रूपमा दुई धारको संघर्ष देखापर्‍यो। एउटा धारको नेतृत्व पुष्पलाल र अर्को धारको नेतृत्व केशरजंगले गरे।

विकासक्रम: ७६ वर्षमा केके भयाे?

२३ चैत २००५: कम्युनिस्ट घोषणापत्र अनुवाद

१० वैशाख २००६: नेपाल कम्युनिस्ट पार्टी स्थापना

६ भदौ २००६: औपचारिक घोषणा

११–१६ असोज २००८: कलकत्तामा प्रथम राष्ट्रिय सम्मेलन

१७–२६ माघ २०१०: पहिलो महाधिवेशन

१५–२५ जेठ २०१४: दोस्रो महाधिवेशन

भदौ २०१८: अन्तरजोन गठन

२०१८  ः दरभंगा प्लेनम (२४ जिल्लाका ५४ जना सहभागी)

२०१९: अन्तरजोन विवाद (बहुमत, अल्पमत)

४–१५ वैशाख २०१९: तेस्रो महाधिवेशन

२०२३, २४ र २५: गुट महाधिवेशन

२० मंसिर २०२८: केन्द्रीय न्युक्लियस गठन

२ जेठ २०२८: झापामा टाउको कटुवा अभियान

२१ फागुन २०२९: सुखानी काण्ड

३० भदौ–७ असोज २०३१: मोहन विक्रमको चौथो महाधिवेशन

२०३२: कोअर्डिनेसन केन्द्र गठन

भदौ २०३४: मुक्तिमोर्चा समूह कोेकेमा एकता

१२ चैत २०३३: नख्खु जेल ब्रेक

११ पुस २०३५: नेकपा (माले) गठन

२०३६: सानो समूहबाट नेकपा  घोषणा (अलग्गै)

१ जेठ २०३७: नेकपा माले र सिसिपीबिच सहकार्य

२०३९: पार्टीमा अन्तर्विरोध, महासचिव हटाइए

¬९–१४ भदौ २०४६: नेकपा (माले) चौथो महाधिवेशन

२०४६: जनआन्दोलनमा कांग्रेससँग सहकार्य

२ माघ २०४६: जनआन्दोलननिम्ति संयुक्त वाममोर्चा गठन

२०४७ कात्तिक:  माले–मार्क्सवादी एकीकरण प्रस्ताव, एकताका लागि ९ र ७ बुँदे प्रस्ताव, तीनतीन सदस्यसहित वार्ता समिति गठन

१९ मंसिर २०४७: एकीकरण संयुक्त दस्ताबेज

२२ पुस २०४७: नेकपा माले र माक्र्सवादीबिच एकता

१४–२० माघ २०४९: पाँचौ महाधिवेशन ‘जबज’ पारित

३ जेठ २०५०: दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको मृत्यु

२०५१: मध्यावधि निर्वाचनमा ८८ सिटसहित प्रतिनिधिसभामा ठुलो दल

७–२१ माघ २०५१: केक बैठकबाट एमालेमा उपमहासचिव पद सिर्जना

१ फागुन २०५२ः माओवादी जनयुद्ध सुरु, एमाले संगठन प्रभावित

४ असोज २०५३: संसद्बाट महाकाली सन्धि पारित, एमाले फुट्को आधार

१२–१८ माघ २०५४: छैटौ महाधिवेशन

२१ फागुन २०५४:  वामदेव गौतमको नेतृत्वमा पार्टी विभाजन

¬२०५६: प्रतिनिधिसभा निर्वाचन, एमालेलाई ७३ सिट

४ फागुन २०५८: पार्टी एकता

१८–२२ माघ २०५९: सातौं महाधिवेशन

२० जेठ २०६१: एमाले सरकारमा

१९ माघ २०६१: ज्ञानेन्द्र शाहको ‘कु’, दलीय सरकार अपदस्थ

७ मंसिर २०६२: सात दल र विद्रोही माओवादीबिच १२ बुँदे सहमति  

७ फागुन २०६२: दोस्रो जनआन्दोलन घोषणा

२०६३: दोस्रो जनआन्दोलन सम्पन्न

२०६३: एमाले बराबर माओवादीलाई मान्यता

२०६३: अन्तरिम संसद्मा माओवादीलाई ७३ सिट  

२०६४: संविधानसभा निर्वाचनमा एमाले ३३ सिटमा विजयी, महासचिवबाट माधव नेपालको राजीनामा

५–१४ फागुन २०६५: सातौ महाधिवेशन  

१९ असार देखि १ साउन २०७१: नवौं महाधिवेशन

१४ असोज २०७४: एमाले र माओवादी केन्द्रबिच गठबन्धन

३ जेठ २०७५: एमाले र माओवादी केन्द्रबिच एकीकरण, नयाँ नाम नेकपा

२३ फागुन २०७७: सर्वोच्च अदालतबाट एकता बदर

९ भदौ २०७७: माधव नेपाल समूहबाट पार्टी विभाजन

१०–१३ मंसिर २०७८: दसौ महाधिवेशन

दोस्रो महाधिवेशन

नेकपाको दोस्रो महाधिवेशन २०१४ जेठ १५–२५ सम्म काठमाडौंको फोहरा दरबार (अहिले निर्वाचन आयोग भएको स्थल) मा खुला रूपमा भएको थियो। महाधिवेशनको झण्डोत्तोलन पुष्पलालले गरेका थिए। उद्घाटन कार्यवाहक महासचिव केशरजंगले गरेका थिए। पहिलो महाधिवेशनद्वारा निर्वाचित महासचिव मनमोहन चीनमा उपचारका लागि बसेकाले दोस्रो महाधिवेशनमा उपस्थित भएनन्। केशरजंगले नै कार्यवाहक महासचिवकै हैसियतले महाधिवेशन गराए।

दोस्रो महाधिवेशनमा केशरजंगले पार्टीको कार्यक्रम परिवर्तनको प्रस्ताव राखेका थिए। उनको ‘पार्टी कार्यक्रममा परिवर्तन किन?’ भन्ने दस्ताबेज पूर्ण रूपमा अस्वीकृत भयो र गणतन्त्रको कार्यक्रमिक नारा पास भयो। महाधिवेशनबाट पुष्पलालद्वारा प्रस्तुत कार्यक्रमको मुख्यमुख्य बुँदाको मस्यौदा पनि पास भयो।

महाधिवेशनले केशरजंगद्वारा प्रस्तुत दस्ताबेज अस्वीकृत गरे पनि उनलाई पुनः महासचिवको जिम्मेवारी दियो। नेतृत्वमा केशरजंग गुटको नियन्त्रण रह्यो। त्यो महाधिवेशनको रमाइलो पक्ष के थियो भने नेतृत्वका लागि भएको मतदानमा केशरजंगले १७ मतमध्ये १२ पाएका थिए भने पुष्पलालले ५ मत मात्रै। अल्पमतमा परेका पुष्पलालको कार्यक्रम पारित भएका कारण त्यसलाई लागु गर्न बहुमतको नेतृत्वले ध्यान दिएन। त्यसपछि उनले योजनाबद्ध रूपमा महाधिवेशनद्वारा पारित कार्यक्रम र कार्यनीतिलाई अस्वीकार गर्ने काम गरे।

दुई–दुई वर्षमा महाधिवेशन गर्ने दोस्रो महाधिवेशनको निर्णयलाई केन्द्रीय समितिको बहुमतको आडमा केशरजंग गुटले ६ वर्षसम्म टार्ने काम गर्‍यो। दक्षिणपन्थी अवसरवादी यो गुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई लामो समयसम्म असर पार्‍यो।

तेस्रो महाधिवेशन

पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलायो। सोही बैठकले पाँच जोनका संयोजक सम्मिलित ‘अन्तर–जोन सामञ्जस्य समिति’ बनाएको थियो। २०१८ सालमा दरभंगामा कम्युनिस्ट पार्टीको प्लेनम भयो। त्यस प्लेनममा २४ जिल्लाका प्रतिनिधिहरु, केन्द्रीय सदस्यहरु गरी ५४ जना नेता–कार्यकर्ताले भाग लिए। प्लेनममा संविधानसभाको विषयमा पनि बहस भयो तर दरभंगा प्लेनमविपरीत नेतृत्व तहबाट काम हुन थालेपछि उक्त प्लेनमद्वारा निर्धारित पाचवटै जोन (क्षेत्र) का प्रतिनिधिहरू सामेल भई २०१८ भदौमा अन्तरजोन सामञ्जस्य समितिको गठन भयो। दरभंगा प्लेनम नेपालको कम्युनिस्ट पार्टीमा महत्त्वपूर्ण मानिन्छ।

पूर्वकोसी प्रान्तीय कमिटीको पुनर्गठन बैठक तुलसीलालको उपस्थितिमा सिलगुढीमा बस्यो। त्यो कमिटीको सचिवमा भरतमोहन अधिकारी छानिए। त्यसपछि पश्चिम कोसी प्रान्तीय कमिटी पुनर्गठन भयो। यी कमिटीहरुको विपक्षमा रहेको अन्तरजोन सामञ्जस्य समिति पनि केन्द्रीय समितिको विरोधमा उत्रियो। अन्तरजोन सामञ्जस्य समितिको सचिव तुलसीलाल छानिए। त्यही समितिको निर्णयअनुरुप पुष्पलाललाई लिन जाने र जेलमा रहेका मनमोहनलाई त्यहाँबाट भगाउनेसमेत योजना बन्यो।

अन्तरजोन सामञ्जस्य समितिको आयोजनामा २०१९ वैशाख ४ देखि १५ गतेसम्म नेकपाको तेस्रो महाधिवेशन भएको थियो। तेस्रो महाधिवेशनको मुख्य विवाद भनेको तत्कालीन नारामा केन्द्रित थियो, कार्यक्रम होइन। अन्तरजोन सामञ्जस्य समितिका तर्फबाट तुलसीलालले सम्प्रभुता सम्पन्न संसद् स्थापना (सुप्रिम एनड सोभरन पार्लियामेनट) को माग प्रस्तुत गरे। पुष्पलालले विघटित संसद्को पुनर्स्थापना (रेस्टोरसन अफ भेरी पार्लियामेन्ट) को माग राखे। यसैगरी जेलमा रहेका मोहनविक्रम सिंहका तर्फबाट संविधानसभाको माग राखियो। यसमा पनि विवाद भएको थियो।

कम्युनिस्ट पार्टीको संक्रमणकाल

२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यकारिणी समिति विवादका कारण निष्क्रिय रहेको अवस्थामा २०२४ सालमा पुष्पलाल पक्षबाट केन्द्रीय समिति निर्माण गर्दै एउटा कन्भेन्सन आयोजना गरियो। त्यसले पुष्पलालद्वारा प्रस्तुत पार्टी सिंहावलोकन दस्ताबेजलाई मस्यौदाका रूपमा पारित गर्‍यो।

२०२५ साल जेठमा पुष्पलाल समूहले तेस्रो सम्मेलन गरी बेग्लै पार्टी केन्द्रको घोषणा गर्‍यो। त्यसको महामन्त्री पुष्पलाल भए। छरिएर रहेका कम्युनिस्टलाई एक सूत्रमा बाँधी पार्टी महाधिवेशन वा सम्मेलन गरी केन्द्रीय कमिटी गठन गर्ने उद्देश्यले जेलमा रहेका नेताहरू छुटेर आएपछि २०२८ मंसीर २० गते केन्द्रीय न्युक्लियसको गठन भयो।

केन्द्रीय न्युक्लियसले मनमोहन, शम्भुराम र मोहनविक्रमलाई कार्यालय सञ्चालन गर्ने जिम्मा दियो। न्युक्लियसले मनमोहन र शम्भुरामलाई पुष्पलालसँग एकता वार्ता गर्ने जिम्मा दियो। तर शम्भुरामले पुष्पलालसँग पार्टी भंग गर्न प्रस्ताव राखेका कारण वार्ता असफल भयो। कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले गठित न्युक्लियस आफैं एकीकृत बन्न सकेन। अन्ततोगत्वा केन्द्रीय न्युक्लियसको एउटा पक्षले मोहनविक्रमको नेतृत्वमा २०३१ भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन गर्‍यो र, अर्को पक्षले २०३६ सालमा एकता सम्मेलन गरी नेकपा घोषणा गर्‍यो। नेकपामा फुट र विभाजनका कारणले एक समयमा डेढ दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी देखापरे।

कोके गठन

कोओर्डिनेसन केन्द्र नै नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार बन्दै गयो। जुन नेकपा एमालेको लिगेसीमा जोडिन्छ। कोअर्डिनेसन केन्द्र हुँदै बनेको माले र माले–मार्क्सवादीपछि बनेको एमाले अहिलेको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी हो।

एमालेले आफू कम्युनिस्ट पार्टीको मूलधार भएको दाबी गर्दै आएको छ। माले बनेपछि नेपालमा वामपन्थीहरु नयाँ शक्तिका रूपमा उदाए। २०३२ सालमा विराटनगरमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) गठन भयो। आजको एमाले कोकेकालका सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, मुकुन्द न्यौपाने, अमृत बोहरा, गोविन्द न्यौपाने, मणिलाल राई र रामचन्द्र तथा मुक्तिमोर्चाबाट २०३४ सालमा कोकेमै आएका जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, वामदेव गौतमलगायतका नेताहरुबाट बनेको हो।

२०३९ सालमा मालेभित्र खटपट भयो, पार्टी फेरि समस्यामा पर्‍यो। सिपी महासचिव थिए। उनको पार्टी कमिटीसँग अन्तरविरोध बढ्यो। विस्तारै उनी कमजोर बन्दै गए। सिपीमा एक किसिमले तानाशाह स्वभावका थिए। मदन, जीवराज, माधव, अमृत, झलनाथ, ईश्वर पोखरेल, प्रदीप नेपालहरुले सिपी स्वभावको प्रतिवाद गरिरहे। त्यसबेला आफूलाई महासचिवबाट मुक्त गरिएको व्यहोरा आफैले निर्णय पुस्तिकामा लेखर सिपी हटेका थिए। त्यसबेला सिपीले माधवलाई महासचिवको जिम्मेवारी लिन आग्रह गरे पनि उनले मानेनन्। माधव र वामदेवको प्रस्तावमा सिपीपछि झलनाथ महासचिव भए।

चौथो महाधिवेशन

नेकपा (माले) द्वारा २०४६ साल भदौ ९–१४ मा सिराहामा भूमिगत रूपमा नेकपाको चौथो महाधिवेशन आयोजना गरिएको थियो। हाल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका अनुसार सो महाधिवेशनको मूल व्यवस्थापनमा उनी स्वयं खटिएका थिए। त्यतिबेला पोखरेलको कार्यक्षेत्र धनुषा, महोत्तरी थियो। २०४६ सालमा जनआन्दोलनका लागि वाममोर्चा गठन गर्ने र प्रजातान्त्रिक आन्दोलनका लागि नेपाली कांग्रेससँग कार्यगत एकता कायम गर्ने कुरामा चौथो महाधिवेशनको महत्त्वपूर्ण योगदान रहेको थियो।

चौथो महाधिवेशनले मदनलाई महासचिव निर्वाचित गर्‍यो। नेकपाको चौथो महाधिवेशन कम्युनिस्ट आन्दोलनभित्रको एउटा घटक नेकपा (माले) ले आयोजना गरेको भए पनि नेपालको राजनीतिमा यसको दूरगामी प्रभाव परेको छ। चौथो महाधिवेशनमा माओत्सेतुङ विचारधारालाई निरन्तरता दिने कि छोड्ने भन्नेमा ठुलो बहस भयो। त्यस विषयमा भोटिङ भयो। माओत्सेतुङ विचारधारा राख्नुपर्छ भन्ने लाइनमा अमृत थिए। उनको पक्षमा अष्टलक्ष्मी शाक्य, अशोक राईलगायत केही नेता थिए।

पाँचौ महाधिवेशन

२०४७ सालमा नेकपा माले र माक्र्सवादीबित एकीकरण भएपछि बनेको नेकपा (एमाले) ले २०४९ माघ १४–२० सम्म काठमाडौंमा नेकपाको पाचौं महाधिवेशन आयोजना गर्‍यो। महाधिवेशनले नेपाली क्रान्ति (कम्युनिस्ट आन्दोलन) को मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम पारित गर्‍यो। महाधिवेशनले मार्क्सवादीबाट आएका मनमोहन अधिकारीलाई अध्यक्ष बनायो भने मालेका मदनलाई महासचिवमै निरन्तरता दियो।

महाधिवेशनमा मदनको जबजका अतिरिक्त सिपीको परिमार्जित नौलो जनवाद, मोहनचन्द्रको नौलो जनवाद, रघु पन्तको सामाजिक जनवादीजस्ता कार्यक्रम प्रस्तुत भएका थिए। व्यापक छलफलबाट पनि निष्कर्ष ननिस्किएपछि मतदान भयो। मदनको जबज दस्तावेजले बहुमत पायो। पाँचौं महाधिवेशनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना सन् १९४९ अप्रिल २२ मा भएको भन्ने निष्कर्ष निकाल्यो।

छैटौं महाधिवेशन

२०५० सालमा मदनको जिप दुर्घटनामा मृत्यु भयो। २०५१ सालमा मुलुकमा मध्यावधि निर्वाचन भयो। निर्वाचनपछि एमाले ८८ सिट जितेर मुलुकको ठुलो दल बन्यो। ४ असोज २०५३ मा संसद्बाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित भएसँगै एमालेभित्र  विवाद बढेको थियो। पार्टीभित्र वामदेव गौतम र केपी ओलीपक्षबिच दुरी बढ्दै गएको थियो। संसद्बाट महाकाली सन्धि पास हुँदा एमाले अध्यक्ष एवं सांस मनमोहन, राधाकृष्ण मैनाली, सहाना प्रधान, हिरण्यलाल श्रेष्ठ, पद्यरत्न तुलाधारलगायतका अनुपस्थित भएका थिए। महासचिव माधव र केपी सन्धि पक्ष थिए। यसले पार्टीभित्र विग्रह ल्याएको थियो।

यसैबिच २०५४ माघ १२–१८ मा एमालेको छैटौं महाधिवेशन नेपालगन्जमा भयो। महाधिवेशनमा पुग्दा पार्टीले एकातिर आफ्ना निर्णयहरुलाई पाँचौं महाधिवेशनको नीतिहरुको निरन्तरता हो भनेर दाबी गर्‍यो भने अर्कोतिर ‘जनताको बहुदलीय जनवाद’ स्वयं नै क्रान्तिहरुको सिद्धान्त हो भन्ने घोषणा गर्‍यो। महाधिवेशनले मनमोहन अध्यक्ष र माधव महासचिव रहेको केन्द्रीय कामिटी निर्वाचित गर्‍यो। महाधिवेशनले पार्टीमा उत्पन्न विवाद मिलाउन सकेन। फलतः २०५४ फागुन २१ गते सिपी, वामदेवलगायत पार्टीबाट अलग भए।

सातौं महाधिवेशन

२०५८ सालमा वामदेव एमालेमा फर्किए तर सिपी भने फर्केनन। मोहनचन्द्र, सलिममियाँ अन्सारी, हरि रोका, नारायण ढकाल, अम्बिका साँवा, उमेशचन्द्र थापालगायतका केन्द्रीय नेताहरूले पार्टी छाडे। वामदेव फर्केपछि पार्टीको सातौं राष्ट्रिय महाधिवेशन २०५९ माघ १८–२२ मा जनकपुरमा भयो। प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास महाधिवेशनको मूल नारा थियो।

महाधिवेशनमा महासचिव माधवको राजनीतिक संगठनात्मक प्रतिवेदन, केपीको ‘पार्टी जीवनको प्रजातान्त्रीकरणसम्बन्धी धारणा र विधान संशोधन मस्यौदा प्रस्तावसहित चारवटा दस्ताबेजहरु प्रस्तुत भएका थिए। महासचिवको बाहेक अन्य दस्तावेज स्थगित भए। त्यतिबेला नेतृत्वमा केपीले दाबी गरेका थिए। चुनाव भए जित्ने अवस्था नभएकाले उनले माधवलाई नेतृत्व छाडेका थिए। महाधिवेशनबाट मदनले महासचिवमा निरन्तरता पाए।

आठौं महाधिवेशन

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पराजय भोगेको एमालेको आठौ राष्ट्रिय महाधिवेशन २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा भयो। महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीको हैसियतमा अतिथि थिए। केन्द्रीय कमिटीका तर्फबाट निवर्तमान महासचिव झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

 संगठन विभाग प्रमुख अमृतकुमार बोहराले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहितको बहुपदीय व्यवस्थाका साथै राष्ट्रिय प्रतिनिधि परिषद्को गठनलगायतका नयाँ प्रस्ताव राखेर सातौ महाधिवेशनद्वारा पारित विधानलाई अद्यावधिक गरिएको थियो। महाधिवेशनमा केन्द्रीय समितिका सबै पदमा प्रतिस्पर्धा भएको थियो। खनाल अध्यक्षमा विजयी भए। यही महाधिवेशनपछि पार्टीभित्र ओली गुट मौलाउँदै आएको हो।

नवौ महाधिवेशन

२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं  भन्ने मूल नाराका साथ नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन भएको थियो। नवाैं महाधिवेशनमा अध्यक्षमा केपी र माधवबिच प्रतिस्पर्धा भएको थियो। यही महाधिवेशनपछि एमालेमा ठुला गुट सिर्जना भए। यो महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए। मुलुकको राजनीतिमा ओली केन्द्रविन्दुमा देखिए।

एमाले–माओवादी एकीकरण

२०७४ मंसिरमा भएको आमनिर्वाचनमा केपीले पार्टी एकतासहितको प्रस्ताव लिएर माओवादीसँग गठबन्धनको प्रस्ताव गरे। २०७४ दसैंको समयमा केपी र पुष्पकमलले निर्वाचनमा एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँड गरे। सोही आधारमा दुवै दल मिलेर चुनावमा गए। निर्वाचनमा बहुमत पाएपछि केपीको नेतृत्वमा सरकार बन्यो। यसैक्रममा एमाले र माओवादीबिच एकता भयो। नयाँ नेकपा राखियो तर २०७७ फागुन २३ गते एमाले र माओवादीबिचको एकीकरण बदर भयो।

दसाैं महाधिवेशन

एमालेको दसौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १० देखि १४ सम्म चितवनमा भएको थियो। नारायणगढस्थित नारायणी किनारामा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सौराहामा चल्यो। महाधिवेशनबाट ओली दोस्रो पटक अध्यक्षमा निर्वाचिन भए। ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो। महाधिवेशनपछि २०७९ मा भएको आमनिर्वाचनमा एमाले देशको दोस्रो ठुलो दल बन्यो। ओलीले आम निर्वाचनमा भीम रावललाई टिकट दिएनन्। रावल निष्क्रिय बने। महाधिवेशनमा आफूलाई असहयोग गर्नेप्रति ओली असहिष्णु देखिए।

प्रकाशित: २५ मंसिर २०८२ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App