नेकपा (एमाले) ले काठमाडौंमा आयोजना गर्न लागेको विशाल जनसभामा सरकार पक्षबाटै घुसपैठ हुन सक्ने आशंका व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ।
बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सुरक्षा दिनुको साटो घुसपैठ गराएर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उपमहासचिव ज्ञवालीले पछिल्ला घटनाक्रम हेर्दा सरकारले तीन ढंगले एमालेलाई अवरोध गर्न खोजेको देखिएको बताए।
‘एउटा कतिपय ठाउँमा मुठभेड नै गराउने, अर्को नेताहरूलाई गन्तव्यमा जान नदिने र स्थान हद गर्ने,’ ज्ञवालीले भने, ‘र, तेस्रो भनेको– घुसपैठहरू गराएर अवाञ्छित घटनाहरू घटाउने प्रयास पनि हुन सक्छ।’
सरकार पक्षबाटै असुरक्षाको महसुस भएको भन्दै एमालेले कार्यक्रम र नेतृत्वको सुरक्षाका लागि आफ्नै स्वयंसेवक संयन्त्रलाई पूर्ण रूपमा परिचालन गर्ने जनाएको छ।
‘सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा उल्टै अवाञ्छित गतिविधि गराउन खोजेको देखिन्छ,’ ज्ञवालीले भने, ‘त्यस बारेमा हामी पूर्ण रूपमा सतर्क छौँ। कार्यक्रम र नेतृत्वको सुरक्षाका लागि हाम्रो स्वयंसेवक टोली पूर्ण रूपमा तम्तयार भएर बसेको छ।’
उनले सिमरामा भएको अवरोध र काठमाडौं उपत्यका बाहिर जाँदा एमाले नेताहरूमाथि भइरहेको व्यवहारले सरकार स्वस्थ प्रतिस्पर्धाभन्दा पनि निषेधको राजनीतिमा ओर्लिएको पुष्टि भएको दाबी गरे।
एमालेले यही मंसिर ६ गते काठमाडौंमा शक्ति प्रदर्शन सहितको जनसभा आयोजना गर्ने तयारी गरेको छ।
प्रकाशित: ४ मंसिर २०८२ २२:०१ बिहीबार





