१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

'अतितको बोझ बोक्न सक्दैनौँ' भन्ने परराष्ट्रमन्त्रीको अभिव्यक्तिमा एमालेले जवाफ माग्यो

नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको एक अभिव्यक्तिको कडा विरोध गर्दै संसद्‌मा स्पष्टीकरण माग गरेकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा 'हामी अतितको बोझलाई बोक्न सक्दैनौँ' भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाइन्। उनले इतिहासको बोझ बोक्न नसक्ने भन्नुको अर्थ सीमाको कुरा छोड्न खोजिएको हो कि भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाइन्।

बजेटमाथि छलफल र पास गर्नुपर्ने जिम्मेवारीलाई बोध गर्दै एमालेले संसद्‌को संघर्षको रूप परिवर्तन गरेको उल्लेख गर्दै उनले भनिन्, ‘मुलुकको प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिको चर्को विरोध संसद् र सडकमा भइरहेका बेला परराष्ट्रमन्त्री छिमेकी मुलुक भारत भ्रमणमा जानुभयो। भारत भ्रमणले नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउने र असमझदारी हटाउने हाम्रो विश्वास थियो।’

अर्यालले अगाडि थपिन्, ‘हामीले सुन्यौँ, हामी अतितको बोझलाई बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र लुकेको राष्ट्रघाती अभिव्यक्ति परराष्ट्रमन्त्रीले दिनुभयो। यता प्रधानमन्त्रीले विदेशीको जमिन अतिक्रमण गरेको कुरा गर्ने, उता परराष्ट्रमन्त्रीले समकक्षीसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्ने?’

उनले परराष्ट्रमन्त्रीले 'अतितको बोझ' भनेर के कुरालाई इङ्गित गर्न खोजेको हो भन्दै त्यसको जवाफ सरकारले दिनुपर्ने माग गरिन्। ‘के संसद्‌मा राष्ट्रियताको सन्दर्भमा छलफल गर्दै गर्दा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका अतिक्रमित नेपाली जमिनको दाबीलाई बोक्न सक्दैनौँ भन्न खोज्नुभएको हो? या सीमा रक्षाका निम्ति लडिरहेका नेपालीहरूको बोझलाई बोक्न सक्दिनँ भन्न खोज्नुभएको हो?’, अर्यालले प्रश्न गरिन्।

सरकारका मन्त्रीहरूले बोल्ने कुरा राष्ट्रको नीति हुने भन्दै उनले सरकार परिवर्तन हुँदैमा राष्ट्रको नीति परिवर्तन नहुने र परराष्ट्र नीति जहिले पनि राष्ट्रको हितमा समर्पित हुनुपर्ने उल्लेख गरिन्। राष्ट्रलाई नोक्सान पुर्‍याउने र कमजोर बनाउने यस्ता गम्भीर अभिव्यक्तिहरूलाई रोक्नका लागि संसद्‌बाटै रुलिङ हुनुपर्ने माग उनको छ। 

प्रकाशित: १ असार २०८३ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App