१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सुनसरी घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरूले सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिनिधिसभाको बिहीबारको विशेष समयमा बोल्दै सांसद गुरुप्रसाद बरालले सुनसरी घटनाको समाधानमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको टिप्पणी गरे। उनले समाजमा धार्मिक सहिष्णुता कायम राख्न सरकारले समन्वयकारी र सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए। 

सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण तथा मोहियानी किसानका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै सहरका महत्त्वपूर्ण स्थानमा रहेका जग्गा भूमाफियाको कब्जामा पर्न नदिन प्रभावकारी कदम चाल्न आग्रह गरे। सांसद आरेन राईले बाँदरका कारण किसानको खेतीबालीमा भइरहेको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै किसानले भोगिरहेको यो समस्याको तत्काल समाधान खोज्न माग गरे। 

सांसद भरत गिरीले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन सरकारसँग आग्रह गरे। सांसद प्रकाशचन्द्र परियारले नेपालमा सबै धर्म, पर्व र संस्कृतिप्रति साझा सम्मानको परम्परा रहेको उल्लेख गर्दै धर्म र संस्कृतिका नाममा विभाजन सिर्जना गर्ने प्रयास सफल हुन नदिइने बताए। उनले सुनसरीलगायत क्षेत्रमा भएका पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै अफवाहको पछि नलाग्न आमजनतालाई आग्रह गरे तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरे। 

सांसद डा चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले केही दिनअघि चिकित्सकले सुरक्षित वातावरणमा काम गर्न नसकेको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण उपलब्ध गराउन आग्रह गरे। सांसद साजिका खातुका सिद्धिकी र सरस्वती लामाले सुनसरी घटनामा भएको गोलीकाण्डबारे उच्चस्तरीय छानबिन गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे। 

सांसद श्रीराम न्यौपानेले नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा मृत्यु भएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले उक्त आयोजना राष्ट्रकै गौरवको आयोजना भएको बताए। सांसद प्रकाशसिंह कार्कीले सुनसरीजस्ता घटना पुनः दोहोरिन नदिन सरकार र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिँदै समाजमा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। 

सांसद डा लेखजङ्ग थापाले वीरगञ्जस्थित नारायणी अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको पाँचबुँदे सहमतिलाई सकारात्मक भन्दै संवाद र वार्तामार्फत समस्या समाधान गर्नु नै सबैभन्दा उपयुक्त उपाय भएको बताए। 

प्रकाशित: १४ श्रावण २०८३ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App