१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले बन्दसत्र: जेन-जी विद्रोहबारे दुई थरी धारणा

नेकपा एमालेको बन्दसत्रमा जेनजी विद्रोहबारे दुई खाले धारणा प्रस्तुत भएका छन्। भृकुटीमण्डपमा आइतबार सुरु भएको बन्दसत्रको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहलाई ‘विदेशी षड्यन्त्र’ भएको धारणा राख्दै त्यसलाई नै स्थापित गर्न लागेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने ‘विदेशीलाई जिम्मा लगाएर उम्किन नसक्ने’ धारणा राखेका छन्।

बन्दसत्र सञ्चालन गर्दै एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलन बिचमै अपहरण भएको र विदेशी षड्यन्त्रमार्फत लोकतन्त्रलाई खतरामा पारिएको बताएका थिए। उनले संविधान र लोकतन्त्रलाई धराशयी पार्दै विदेशी शक्तिहरू हाबी भएर विध्वंस मच्चाएको बताएका थिए।

११औं महाधिवेशनअन्तर्गत आइतबार सुरु भएको बन्दसत्रमा छुट्टै अवधारणा पेस गर्दै उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीको आलोचना गरेका थिए। तर ओलीले त्यसको प्रतिवाद गरेका थिए। पोखरेलले जेनजी पुस्ताको आन्दोलनको प्रसंग निकाल्दै ‘त्यसबेला पार्टीकै नेतृत्वमा सरकार रहेको र राम्रो काम गरेको भए किन असफल हुने कुराको हेक्का नराखिएको?’ भनेर प्रश्न गरेका थिए।

जवाफमा ओलीले दुनियाँले लखेटेर सत्तोसराप गरेका बेला आफ्नो पार्टीभित्र वरिपरिकै साथीहरूबाट माया पाउनुपर्नेमा नेतृत्व छाड् भन्नु गलत भएको बताए। तेस्रो कार्यकालका लागि अध्यक्षको दाबी गरिरहेका ओलीले बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेका कुराको जवाफ दिँदै आफूलाई फाल्न लागेका साथीहरू पोखरेललाई पनि फाल्न तयार भइसकेको बताएका थिए।

आफू अध्यक्ष हुँदा पार्टी अझै बलियो हुने बताउँदै ओलीले पार्टी, देश र जनताको शिर निहुरिने काम कहिल्यै नगरेको प्रस्ट पारेका थिए। ‘यतिबेला विरोधीहरूले लखेटिरहेका छन्। केपी ओली एक्लो व्यक्तिलाई गालीगलौज, सत्तोसराप गरेका बेला मेरा वरिपरिका प्रिय कमरेडहरूले झन् माया गर्नुपर्ने होइन? डोकोमा हालेर फाल्छौं भनेर त कहाँ हुन्छ?’

ओलीले बन्दसत्रको हलमा भनेका थिए। केही समय सञ्चारकर्मीहरूलाई समेत हलमा प्रवेश दिइएका बेला ओलीले यस्तो भनेका हुन्। ओलीले बन्दसत्रको हलमा कोहीकसैबाट गल्ती भएको भए ‘सरी’समेत भनेका थिए। ‘मेरा तर्फबाट कहीँ गल्ती भएको भए सरी भन्छु,’ ओलीले भनेका थिए।

ओलीले आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राखे पनि पोखरेलले त्यसलाई अस्वीकार गरे। ओलीले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्नेसमेत उनले प्रस्ट पारेका थिए।

तर पोखरेलले ११औं महाधिवेशनलाई एकता महाधिवेशनको सन्देश दिनुपर्ने बताउँदै आफ्नो नाममा सहमति गर्न ओलीलाई आग्रह गरेका थिए। उनले पार्टी सञ्चालनबारे पुनर्विचार आवश्यक रहेको बताएका थिए। ‘बाह्य षड्यन्त्रलाई जिम्मा लगाइयो, हाम्रो कार्यभार सकियो?’ उनले प्रश्न गरे।

पोखरेलले विगतका महाधिवेशनहरूको पनि स्मरण गरेका थिए। १०औं महाधिवेशनमा कतिपय विषयमा आत्मसमीक्षा गर्नुपर्ने भए पनि त्यस्तो केही नभएको उनले बताए। साथै उनले आफूले ल्याएको अवधारणा अध्यक्षसँग सल्लाह गरेरै ल्याएको र महाधिवेशन प्रतिनिधिहरूको हातमा पनि पुगेको बताए। उनले पार्टीको नीति र विधिमा समस्या नरहेको तर व्यवहारमा समस्या रहेकाले अहिलेको नेतृत्व बदल्नुपर्ने उनको भनाइ थियो।

पोखरेलले आफ्नो कमजोरीमा बाह्य षड्यन्त्र हो भनेर पन्छिन नहुने बताउँदै आन्दोलन कसरी भयो भन्ने विषयमा कहिल्यै समीक्षा हुन नसकेको तर विदेशी षड्यन्त्र भयो भनेर कसलाई कतिखेर कसरी बुझाउने हो भनेर पनि प्रश्न गरेका थिए। ‘सबै कुरा बाह्य षड्यन्त्रलाई जिम्मा लगाएर हाम्रो कार्यभार सकियो भन्ने सोच गलत हो। पाँचौं महाधिवेशनपछि पार्टी किन फुट्यो भन्ने विषयमा गम्भीर छलफल नै भएन,’ पोखरेलले भने, ‘हामीसँग राज्य संयन्त्र थियो तर असफल भयौं भने कमजोरी हाम्रो पनि थियो, त्यसतर्फ गम्भीर ध्यान दिनैपर्छ।’

पाँचौं महाधिवेशनको विषय उठाउँदै पोखरेलले फरक विचार, दृष्टिकोण र मतलाई स्वीकार गरेर जानुपर्नेमा जोड दिएका थिए। ‘पाँचौं महाधिवेशनमा जनताको बहुदीय जनवाद (जबज) प्रस्ताव गरिएको थियो र फरक मतको संरक्षण गर्ने ग्यारेन्टी गरिएको थियो,’ पोखरेलले प्रतिनिधिमाझ पोखरेलले भने। बन्दसत्रको हलमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र मनपरीतन्त्र चलेको र यसबाट पार्टीलाई क्षति पुगेको बताउँदै असल अभिभावक भएर बस्न ओलीलाई आग्रह गरेका थिए।

भाेलि मतदान

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले आइतबार बेलुकी ७ बजेदेखि मंगलबार (पुस १ गते) सम्मको कार्यक्रम सार्वजनिक गरेको हो।

आइतबार साँझ ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, २९ गते बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमाथि सुधारको समय तय भएको छ।

त्यसैगरी बिहान साढे ९ बजे मतदाता नामावलीउपर परेको दाबीविरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबीविरोधउपर छानबिन र निर्णय तथा सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ। साढे १० बजेपछि ३ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। सोमबार साँझ ६ बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ। मतदान भने पुस १ गते बिहान ११ बजेदेखि पुस साँझ ५ बजेसम्म हुनेछ। यसको नतिजा पुस २ गते मात्रै आउनेछ।

प्यानल बन्दै

बन्दसत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या टुंगो लगाएपछि दुई वटा प्यानल बन्ने भएको छ।

ओली समूहबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको टिम केन्द्रीय सदस्य टुंगो लगाउन तत्लीन छ भने पोखरेल समूहबाट सचिव योगेश भट्टराईको टिमले केन्द्रीय सदस्यहरूको सूची फाइनल गरिरहेको छ। उम्मेदवारी मनोनयनपछि नाम सार्वजनिक गर्ने गरी दुवै पक्षले आआफ्नो टिम बनाइरहेका छन्।

आइतबार राति अबेरसम्म दुवै पक्षले आफ्नो टिममा कोको हुन सक्छन् भनेर गृहकार्य गरिरहेका थिए। ओली समूहमा सबैभन्दा पेचिलो पद महासचिव बनेको छ । ओलीले पुनः शंकर पोखरेललाई नै महासचिव दोहोर्‍याएर प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्न खोजेका छन्।

उपाध्यक्ष पद पाँच वटा भएपछि ओलीलाई अहिल सहज भएको छ। पोखरेलको समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे निश्चित भइसकेको अवस्था छ भने ओली पक्षमा शंकर पोखरेल नै दोहोरिने सम्भावना बलियो बनेको छ।

प्रकाशित: २९ मंसिर २०८२ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App