नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बैठक बसिरहेको हो।
जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। ११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ। यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँटको तयारी छ।
आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।
प्रकाशित: ४ जेष्ठ २०८३ १४:०३ सोमबार





