गण्डकी प्रदेशका विभिन्न सडकमा भएका सवारी दुर्घटनाबाट गत असार महिनामा मात्र २१ जनाको ज्यान गएको छ। पछिल्लो समय मुख्य राजमार्ग सुधार भएसँगै सवारी दुर्घटनाको दर पनि बढिरहेको प्रहरीको भनाई छ। तिब्र गतिले सवारी चलाउँदा हरेक महिना मानवीय क्षति भोग्नुपरेको प्रहरीले बताएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले प्रदेशका विभिन्न राजमार्गमा सवारी दुर्घटना हुँदा १६ जना पुरुष, २ जना महिला, १ जना बालक र २ जना बालिका गरि २१ जनाको ज्यान गएको बताएको छ। ती दुर्घटनामा परेर अरु १८ जना यात्रु घाइते भएको पनि प्रहरीको भनाई छ।
कार्यालयका सूचना अधिकारी थानेश्वर चपाँइका अनुसार एकमहिना अवधिमा प्रदेशभित्र सानाठुला गरि १९ वटा दुर्घटना भएका छन्। तीमध्ये १३ वटा दुर्घटना सवारी चालकका कारण भएको प्रहरीको भनाई छ। दुईवटा दुर्घटना भने सवारीकै कारण भएका छन्। यात्रुको कारण दुईवटा दुर्घटना भएका छन्। बाँकी दुर्घटना सडक अवस्था र मौसम (पहिरो)का कारण भएको पनि प्रहरीको भनाई छ।
‘मुख्य राजमार्ग बिस्तार भएसँगै दुर्घटनाको दर बढेको छ। पृथ्वी राजमार्गमा हरेक दिनजसो दुर्घटना हुने गरेका छन,’ चपाँइले भने, ‘चालकको लापरवाहिका कारण दुर्घटना बढेका छन्। तिब्र गति नै दुर्घटनाको मुख्य कारण हो।’
सवारी चालकले मनलाग्दी तरिकाले तिब्रगतिमा सवारी चलाउने गर्दा बढि दुर्घटना भएको उनले बताए। ती बाहेक सवारीकै कारण पनि दुर्घटना भएका छन्। यात्रुले बाटो वारपार गर्न नजान्दा पनि सवारी दुर्घटना बढेको प्रहरीको भनाई छ।
उनका अनुसार एक महिना अवधिमा ट्राफिक चेकिङको क्रममा १ लाख ६० हजार ७ सय ९४ वटा सवारीसाधन कारवाहिमा परेका छन। ती कारवाहिबाट मात्र १४ करोड ३ लाख ५७ हजार रुपैयाँ राजस्व पनि संकलन भएको प्रहरीको भनाई छ।
सवारी र्दुघटना कम गर्नका लागि विद्यालय तथा कलेजमा ट्राफिक सचेता सम्बन्धि कार्यक्रम गरेको, नयाँ चालकका लागि ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको सूचना अधिकारी चपाँइले जानकारी दिए। ‘यात्रु तथा पैदल यात्रुलाई सुरक्षित यात्रा एवं बाटो वारपार गर्ने सम्बन्धि सचेतना कार्यक्रम पनि संचालन गरिएको छ,’ उनले भने, ‘तरपनि दुर्घटनाको दर कम भएको छैन। सबैभन्दा बढि त्रास अहिले भित्री सडक भन्दा पनि मुख्य राजमार्गमा भएको छ।’
प्रकाशित: ५ श्रावण २०८३ १७:४७ मंगलबार





