नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्।
शुक्रबार बिहानबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यस्तो माग गरेकी हुन्। उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने भन्दै ओलीको राजीनामा मागिन्।
आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको बताउँदै उनले त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण रहेको जिकिर गरिन्। उनले कांग्रेसमा पुनर्गठन सुरु भइसकेको र अब पालो एमालेको आएको बताइन्।
'अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली,’ उनले बैठकमा भनिन्।
यस्तो छ कमिटीमा पेस गरेको धारणा:
१. विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। उसाे भए अहिले असफल भएको चाहिँ काे हाे? अस्तिभर्खर स-साना नानीहरूको कत्लेआम भयाे। खर्बाैंकाे सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयाे। ती सबैको नैतिक जिम्मा कसले लिने हो? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी आईजीपीलाई भागीदार बनाउने हो? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड?
२. यतिखेर हामी कुन कन्पेरेसीको कुरा गरिरहेका छौँ? कुन–कुन वैदेशिक निकायहरू हुन् नेकपा एमालेविरुद्ध लागेका? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ?
३. कमरेड ओली यो पार्टीको अध्यक्ष हुनुभएको ११ वर्ष भयो। यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता-कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्याैँ? एकपल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो। फ्रस्टेसन छ र थियो। स्विकाराैँ।
४. एकपल्ट याे पनि सम्झिऊँ सूर्य चिन्हमा चुनाव को–को र कस्ता प्रतिगामीहरू उठे? दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायाे?
५. तिनको जिम्मेवारी कसले लिने हो? प्रसाईंलाई भित्र्याउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसकाबारे यहाँ कसैले–कसैलाई जवाफ दिनु पर्दैन? आत्मालोचना गर्नुपर्दैन?
६. २०७९ को निर्वाचनपछाडि सक्किनेकी सच्चिने भन्ने बहस चर्चामा थियो। आज अस्तिको भदाै २३/२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ। यो जेन–जी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने नै हो। त्यसलाई अनदेखा गर्न अब सकिन्न।
७. हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ। कांग्रेसमा त्यो सुरु भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली।
८. देशमा बरबादी छ, काम चलाऊ सरकार छ। संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ। त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ। यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन, अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरनेछ।
९. अन्यथा नलिनुहोला- मिनबहादुर गुरुङको सम्पत्तीमाथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौँ।
१०. कमरेडहरू, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदाै २४। त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ। एक जना व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्नहुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ। म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु।
प्रकाशित: ३१ आश्विन २०८२ १३:०७ शुक्रबार





