नेकपा एमालेले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।
एमालेले मंगलबार समानुपातिकतर्फ उम्मेदवार छनोट गर्न हरेक जिल्ला र जनवर्गीय संगठनहरूलाई दुई/दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्न भनेको छ।
कतिपय जिल्ला अध्यक्षहरुले मंगलबार नै नाम पठाइसकेका छन्। तर कुनै पनि मादण्ड तय नगरी एकलौटी ढंगले नाम मागिएको भन्दै एमालेभित्र विवाद उत्पन्न भएको छ।
एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिसको मापदण्ड बनाएर तहगत कमिटीलाई निर्देशन गर्नुपर्ने भन्दै महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन्।
विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका भट्टराईले मंगलबार महासचिव पोखरेललाई फोन गरी समानुपातिकतर्फ उम्मेदवारको नाम निर्वाचन अयोगमा बुझाउनुपर्ने समय नजिक आइसकेकाले मापदण्ड बनाउन पार्टीको बैठक डाक्न महासचिव पोखरेलको ध्यानाकर्षण गराएका हुन्।
भट्टराईले पार्टी बैठकबाट मापदण्ड तय गरी सोहीअनुसार तहगत कमिटीलाई केन्द्रमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिनुपर्ने अवस्था रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
प्रकाशित: ८ पुस २०८२ २१:४५ मंगलबार





