३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिस्पर्धादेखि नडराऔं, जित्नेले समेटौं, हार्नेले सघाऔं: गोकर्ण विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको आवश्यकता औंल्याएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११औं महाधिवेशनस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता विष्टले विधि र पद्धतिको जगमा उभिएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका हुन्।

युवा पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका मुद्दाहरूलाई सम्बोधन गर्न पार्टी नयाँ ढंगले जानुपर्नेमा उनले जोड दिए।

‘विगतका कामहरूको समग्र समीक्षा गर्दै कमी-कमजोरी सच्याएर जानु आजको आवश्यकता हो,’ विष्टले भने, ‘सबै ठीक भएको छ भन्नु पनि बेठीक हो र सबै बर्बाद भएको छ भन्नु पनि गलत हो। राम्रा कामको रक्षा गर्दै त्रुटिहरू सच्याउनुपर्छ।’

नेता विष्टले पछिल्लो समय पार्टीमा सांगठनिक अराजकता र निर्णय प्रक्रियामा अत्यधिक केन्द्रीकरण देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

निर्णय प्रक्रियालाई सामूहिक, विधि सम्मत र सामायिक बनाउनुपर्ने बताउँदै उनले भने, ‘केही वर्षयता निर्णय प्रक्रियामा धेरै भन्दा धेरै केन्द्रीकरणको प्रवृत्ति देखा परेको छ। यसलाई सच्याउनुपर्छ।’

पार्टीभित्र राम्रा भन्दा हाम्रा मान्छे च्याप्ने प्रवृत्ति अन्त्य हुनुपर्ने आशय व्यक्त गर्दै विष्टले पारदर्शी मूल्यांकन प्रणालीको माग गरे।

‘व्यक्तिको योग्यताका आधारमा जिम्मेवारी र कार्यसम्पादनका आधारमा मूल्यांकन हुनुपर्छ,’ उनले भने, ‘त्यसो भएन भने इमानदार र बेइमान, क्षमता राख्ने र नराख्नेबीच कुनै भिन्नता रहँदैन।’

जनताको बहुदलीय जनवाद (जबज) को मर्म नै लोकतान्त्रिक अभ्यास भएको स्मरण गराउँदै उनले भने, ‘प्रतिस्पर्धा हुँदा पार्टी कमजोर हुन्छ भन्ने भाष्य गलत हो। जित्नेले हार्नेलाई समेट्ने र हार्नेले सहयोग गर्ने परिपाटीले मात्र पार्टीमा वास्तविक एकता कायम हुन्छ।’

उनले भावनात्मक एकताले मात्र नभई विधि र पद्धतिमा आधारित एकताले मात्र पार्टी दिगो हुने जिकिर गरे।

प्रकाशित: १ पुस २०८२ १५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App