९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरु भयो : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र नेतृत्वविरुद्ध भइरहेका योजनाबद्ध षड्यन्त्रहरूलाई परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यसअघि भएका षड्यन्त्रहरूझैँ अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरु भएको बताए।

'पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ,' अध्यक्ष दाहालले भने, 'त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरुद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ।'

अध्यक्ष दाहालले माओवादी केन्द्र नेतृत्वको सरकार जनमुखी कार्यक्रमहरूमार्फत लोकप्रिय बन्दै गएको समयमा दलाल, बिचौलिया, माफिया र नोकरशाहहरूले मिलेर षड्यन्त्रपूर्वक सरकारबाट बाहिर धकेलेको र सरकारबाट बाहिरिएपछि पनि षड्यन्त्र जारी रहेको बताए। 'हामीले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिको मार्गमा सरकार अगाडि बढाइरहेका थियौँ। देशको प्रतिष्ठा बढ्दै थियो, जनविश्वास पार्टीप्रति बढ्दै थियो, त्यसैले हामीलाई हटाइयो। सरकारबाट बाहिरिए पनि पार्टी र नेतृत्वविरुद्धको षड्यन्त्र अहिले पनि जारी छ,' उनले भने।

सरकारबाट बाहिरिएपछि पनि माओवादी केन्द्र चुप नबसी सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेका कारण माओवादीविरुद्ध पनि आफू नेतृत्वको सरकारविरुद्ध जस्तै षड्यन्त्र भइरहेको उनले बताए। चैत १५ गतेको विशाल जनसभालगायत विभिन्न खबरदारी कार्यक्रमहरूमार्फत जनमत निर्माण भएको देखेपछि प्रतिक्रियावादीहरू झन् आतंकित भई माओवादी केन्द्र र नेतृत्वविरुद्ध षड्यन्त्र गरिरहेको उनको भनाइ थियो।

हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा डेढ करोड जनताको प्रत्यक्ष सहभागिता र संवाद भएको जनाउँदै उनले भने, 'यस्ता कार्यक्रमहरूले राष्ट्रिय स्तरमा पार्टीप्रति माहोल बनाएको थियो, जसले पुरानै शक्तिलाई फेरि सक्रिय भएर षड्यन्त्रमा लाग्ने अवस्था बनायो।'

प्रचण्डले पार्टी अब फेरि एक्लै चुनावमा जाने तयारीमा रहेको स्पष्ट पारे। 'हामीले एक्लै लड्दा चुनाव जितेका छौँ,' उनले भने, 'अब ८४ सालमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको छ।'

अध्यक्ष दाहालले नेतृत्वविरुद्ध भइरहेको ‘संगठित घेरा’लाई तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रहसमेत गरे।

प्रकाशित: ११ श्रावण २०८२ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App