१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

नेपाल विद्युत् प्राधिकरणमा दुई नयाँ सञ्चालक सदस्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत उनीहरूलाई आगामी चार वर्षका लागि नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाही सञ्चालक समितिमा समावेश भएका छन् । त्यस्तै, उपभोक्तातर्फबाट नागार्जुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ दलित समुदायको प्रतिनिधित्व सम्भवतः पहिलोपटक भएको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो ।

दीर्घायु कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कार्यलाई निरन्तरता दिने अपेक्षासहित प्राधिकरणले श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रकाशित: ३० वैशाख २०८३ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App