आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १२ वटा राजनीतिक दलले पाँचवटा समूह बनाएर भाग लिने भएका छन्। निर्वाचन आयोगका अनुसार प्रत्येक समूहले छुट्टाछुट्टै निर्वाचन चिन्ह प्रयोग गर्ने छन्।
निर्वाचन आयोगका अनुसार राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टी र कविर सोपले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले मिलेर चुनावमा प्रतिस्पर्धा गर्न आयोगमा निवेदन दिएका छन्।
राईले नेतृत्व गरेको जसपाको एउटा समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि उनले समूह बनाएर चुनाव लड्ने निर्णय गरेका हुन्। यसैगरी नाउपा विभाजित भएपछि सोपको पार्टी पनि मिलेर चुनाव लड्ने निष्कर्षमा पुगेको हो।
यसैगरी प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी र रमण कर्ण अध्यक्ष तथा एलिजा गौतम उपाध्यक्ष भएको जनादेश पार्टीले पनि मिलेर चुनाव लड्ने भएको छ। यी दुई पार्टीले पनि छुट्टै समूह बनाएका छन्।
जादेद अली अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टी, हरिचन्दन कुमार रञ्जनले नेतृत्व गरेको बहुजन एकता पार्टी तथा धुपलाल प्रकाश सहनीले नेतृत्व गरेको नेपाल जनजागृति पार्टीले पनि एउटा समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। भरत खड्काले नेतृत्व गरेको नागरिक सर्वोत्तम पार्टी तथा पुन्यप्रसाद प्रसाईले नेतृत्व गरेको सचेत नेपाली पार्टीले पनि मिलेर चुनाव लड्ने भएका छन्।
यसैगरी अम्बिकाप्रसाद थैवको नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी) तथा लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले पनि मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १२ वटा पार्टी समूहगत रूपमा चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्। ‘पार्टी छुट्टाछुट्टै हुने छन् तर पार्टीको चुनाव चिन्ह र समूह भने एउटै हुनेछ’, भट्टराईले भने।
आयोगका अनुसार हालसम्म आयोगमा दर्ता भएका दलहरूको संख्या एक सय ४३ छ। तीमध्ये एक सय १४ वटा दलले फागुनमा हुने निर्वाचनमा भाग लिने भएका छन्।
आयोगमा दर्ता भएका केही दलले निर्वाचनमा भाग लिन निवेदन नै दिएनन्। आयोगका अनुसार फागुन २१ मा हुने निर्वाचनमा एक सय सातवटा चुनाव चिन्ह प्रयोग हुने भएको छ। एक सय दुईवटा दलले छुट्टाछुट्टै निर्वाचन चिन्ह लिएर चुनावनमा प्रतिस्पर्धा गर्नेछन्। आयोगले विभिन्न दललाई एक सय सातवटा चुनाव चिन्ह दिएको छ।
प्रकाशित: २५ मंसिर २०८२ ०७:३२ बिहीबार





