१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बनाउने समय आयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशमा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने समय आएको बताएका छन् । प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र एमालेबीच भएको राजनीतिक सहमति कार्यान्वयन गर्ने बेला आएको उल्लेख गरे ।

सभापति थापाले भने, “हामी कांग्रेस र एमालेबीच एउटा सहमति भएको छ । अब कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बेला आएको छ ।”

उनले राष्ट्रिय राजनीतिक सहकार्यअनुसार प्रदेश तहमा पनि सत्ता समीकरण परिवर्तन हुनु स्वाभाविक रहेको बताउँदै कर्णालीमा कांग्रेसले नेतृत्व लिनुपर्ने अवस्था सिर्जना भएको धारणा राखे । साथै, उनले कांग्रेस कार्यकर्तालाई आगामी राजनीतिक परिस्थितिका लागि तयार रहन आग्रह गरे ।

हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेका सांसद यामलाल कँडेलले गरिरहेका छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनपछि बनेको सत्ता समीकरणअनुसार नेकपा एमालेले कर्णाली सरकारको नेतृत्व गर्दै आएको छ ।

कर्णाली प्रदेशमा कांग्रेसले लामो समयदेखि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । कांग्रेस नेताहरूले राष्ट्रिय सहमतिअनुसार अब प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

प्रदेशसभामा कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १० जना, नेकपा एकीकृत समाजवादीका १ जना र राप्रपाका १ जना सांसद रहेका छन् । साथै, १ जना स्वतन्त्र सांसद कांग्रेसमा आबद्ध भएका छन् । कर्णाली प्रदेशसभामा कुल ४० सदस्य रहेका छन् । सरकार गठनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्छ ।

पछिल्लो समय मुख्यमन्त्रीको कार्यशैलीप्रति सत्तारूढ कांग्रेस सांसदहरूले खुलेर आलोचना गर्न थालेका छन् । स्रोतका अनुसार कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू समेत असन्तुष्ट रहेका छन् ।

प्रकाशित: २८ वैशाख २०८३ १७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App