लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा), जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण गर्न तीनै दलका अध्यक्षले निर्णय गरेका छन् । आज तीन दलका शीर्ष नेताको बैठकबाट तीनै पार्टी एक हुने निर्णय गरिएको छ ।
देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्दै सुशासन सहित विधिको साशन कायम गर्न ताजा जनादेशका लागि आम निर्वाचन नै एक मात्र विकल्प भएको बैठकले ठहर गरेको छ । राष्ट्रिय एकताको मजबुती र संवद्र्धनको एक मात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता र विविधताको सम्मानको सुनिश्चितता सहित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध सिमान्तीकरणमा पारिएकाहरुको वृहत राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको बैठकले कुरा उठेको छ । तीनै दल एक हुने निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुर, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
मधेस थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरुको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरुसँग यस अभियानमा सहभागी हुन समेत अपील गरिएको छ ।
प्रकाशित: २४ मंसिर २०८२ २०:०० बुधबार





