फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतको सफलता प्राप्त गरेको छ । प्रत्यक्षमा १२५ सिट प्राप्त गरेको दलले समानुपातिक तर्फबाट पनि अत्याधिक मत प्राप्त गरेको छ ।
यस निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको रास्वपाले यस जितमा विगतमा अन्य स्थापति राजनीतिक दलबाट आएका उम्मेदवारहरूको जित उत्साह जनक देखिएको छ। १२५ प्रत्यक्षमा जित हासिल गरेको पार्टीमा ४२ जना सांसद अन्य दलबाट पछिल्लो समय रास्वपामा प्रवेश गरेका छन्।
जसमा मधेश प्रदेशमा रास्वपाले सबैभन्दा बढी प्रभाव पारेको देखिएको छ । यस प्रदेशबाट १७ जना निर्वाचित सांसदहरू अन्य दलबाट आएका छन् । सुनसरी ४ मा जनमत पार्टी र आफ्नै सर्वोदय पार्टी छाडेर आएका दीपककुमार साहले कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका छन्।
त्यसैगरी सप्तरी ३ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई रास्वपाका अमरकान्त चौधरीले पराजित गरेर संसद्को यात्रा तय गरेका छन् । यता रौतहट १ मा पूर्वकांग्रेसी राजेशकुमार चौधरीले एमालेका अजय गुप्ता र नेकपाका माधवकुमार नेपाललाई पराजय गराएका छन् ।
यस निर्वाचनमा रास्वपाको लहरले विगतमा देशभरका स्थापित हेभीवेट मानिएका नेताहरूलाई विशेष रुपमा धक्का लागेको छ । मोरङमा सन्तोष राजवंशीले कांग्रेस महामन्त्री गुरुराज घिमिरे र एमालेका जीवन घिमिरेलाई पछारेर जित हासिल गरेका छन् ।
त्यसैगरी तनहुँ १ मा कांग्रेस छाडेका स्वर्णिम वाग्ले र धादिङ २ मा पूर्वमाओवादी बोधनारायण श्रेष्ठले रास्वपामा जित हात पारेका छन्।
निर्वाचनमा काठमाडौं उपत्यकको उमेदवार बिचको प्रतिस्पर्धा पनि रोचक बन्य पुगेको थियो । काठमाडौंको १० निर्वाचन क्षेत्रमा रास्वपाको जित हुदाँ भक्तपुर २ मा एमाले पृष्ठभूमि भएका रुकेश रञ्जितले नेमकिपाका प्रेम सुवाललाई पराजित गरेका थिए ।
विभिन्न निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गर्दा र जनताबाट बहुमत प्राप्त गर्दा पुरानो राजनीतिक विरासत भने धरापमा परेको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १२:५९ बुधबार





