१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

यो निर्वाचन ३५ वर्षको बेथिति उखाल्ने जनमत सङ्ग्रह हो: हरि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं चितवन क्षेत्र नं-१ का उम्मेदवार हरि ढकालले आसन्न निर्वाचन सामान्य चुनाव मात्र नभई जनमत सङ्ग्रह हुने बताएका छन्।

शुक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ढकालले विगत ३५ वर्षको राजनीतिक अस्थिरताप्रति आक्रोश पोखे। ‘यो चुनाव मात्र होइन, यो जनमत सङ्ग्रह हो। विगत ३५ वर्षदेखिको राजनीतिको फोहोर जरैदेखि ओखाली फाल्ने जनमत सङ्ग्रह हो।’ उनले भने।

ढकालले ३५ वर्षमा ३१ वटा सरकार बनेको र ९/९ महिनामा सरकार परिवर्तन हुने परिपाटीले देशमा अस्थिरता निम्त्याएको सुनाए।

५ औं पटक, ३ औं पटक एउटै व्यक्ति प्रधानमन्त्री बनिरहने र २० औं पटक मन्त्री बनिरहने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘सदनलाई सिर्जनात्मक बहस गर्न नदिने र गाली गलौजको थलो बनाउने ३५ वर्षको त्यो यथास्थिति शैलीलाई अब खारेज गर्नुपर्छ।’

उनले संसद् कानुन बनाउने थलो हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले जित्दा सदन सिर्जनात्मक बन्ने दाबी गरे। आफूहरू केही गर्नकै लागि राजनीतिमा आएको बताउँदै उनले सदनमा आफ्नो उपस्थिति बलियो बनाउन आवश्यक रहेको बताए।

‘अब २१ जनाले मात्र पुग्दैन, हामीलाई १५१ जनाको साथ चाहिन्छ। तब मात्र सदनले थाती रहेका कानुनहरू बनाउन र संशोधन गर्न सक्छ,’ ढकालले भने।

समृद्धिको परिभाषा भ्युटावर नभएको तर्क गर्दै ढकालले किसान र खेलाडीको सम्मानमा मात्र वास्तविक समृद्धि झल्कने बताए।

‘भ्युटावर बनाएर समृद्धि आउँदैन, किसानको मुहारमा हाँसो आएपछि मात्र समृद्धि आउँछ,’ उनले भने, ‘युवा खेलाडीले घोषणा गरेका पुरस्कार नपाएर सदनमा चिच्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै उनीहरूलाई आर्थिक रूपमा सम्पन्न बनाएपछि र रंगशालाहरू बनाएपछि मात्र समृद्धि आउँछ।’

ढकालले प्रवासमा रहेका नेपाली, करदाता र आम मतदातालाई देश परिवर्तनका लागि घण्टीमा मतदान गर्न अपिल समेत गरे। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालने शाह उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूको पनि उपस्थिति रहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App