कहिले नेपाली कांग्रेस त कहिले नेकपा (एमाले) ले जित निकाल्दै आएको दैलेख निर्वाचन क्षेत्र नं. २ मा यसपटक पनि मुख्य प्रतिस्पर्धा पुरानै दलहरूबीच देखिएको छ। विशेषगरी नेपाली कांग्रेसका निवर्तमान सांसद दिक्पाल शाही र नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेलबीच नै कडा टक्कर हुने आँकलन गरिएको छ।
यसअघि २०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका पोखरेल २०७९ सालको निर्वाचनमा कांग्रेसका शाहीसँग पराजित भएका थिए। यसपटक पुनः दुवै जना आमनेसामने हुँदा दैलेख–२ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।
यद्यपि, परम्परागत दलबीचको भिडन्तका बीचमा नेकपाका युवा उम्मेदवार योगेन्द्र बहादुर शाहीले पनि बलियो उपस्थिति देखाएका छन्। उनी यसअघि कांग्रेससँगको गठबन्धनमा एकीकृत माओवादीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए र पराजित भएका थिए। कर्णाली योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका योगेन्द्रले चुनावी अनुभवलाई आधार बनाउँदै गाउँ–गाउँ केन्द्रित प्रचारलाई तीव्र पारेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका इन्जिनियर बखतबहादुर शाहीले पनि आफ्नो प्रचारप्रसारलाई गति दिएका छन्। नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी प्रमुख (सीईओ) रहेका शाही इन्जिनियरिङ पृष्ठभूमिका उम्मेदवार हुन्। जिल्लामा नयाँ अनुहारका रूपमा उत्रिएका उनी जनतामाझ पूर्ण रूपमा घुलमिल भइसकेका छैनन्, तर रास्वपाको लहरका कारण चर्चामा छन्।
इतिहास हेर्दा २०५१ सालभन्दा अघि यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित निकालेको थियो। त्यसपछि भने एमाले र कांग्रेसबीच पालैपालो प्रतिस्पर्धा हुँदै आएको छ। २०५१ सालयता कहिले कांग्रेस त कहिले एमालेले जित हात पार्दै आएका छन्।
यसपटक दैलेख–२ मा कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेका पूर्वसांसदहरूबीच केन्द्रित हुने अनुमान गरिएको छ। यद्यपि नयाँ दलहरूको सक्रिय उपस्थितिले मतपरिणाममा कस्तो प्रभाव पार्छ भन्ने चासो भने उत्तिकै बढेको छ।
प्रकाशित: १५ फाल्गुन २०८२ १५:०५ शुक्रबार





