१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

ओली भन्छन्- अब कसैसँग पार्टी एकता हुँदैन, यो समयको बर्बादी मात्रै हुने रहेछ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै पनि राजनीतिक दलसँग अब पार्टी एकताको ढोका पूर्ण रूपमा बन्द भएको बताएका छन्।

नेकपा लगायतका विभिन्न दलहरूसँग एकताको चर्चा चलाउनु समयको बर्बादी र अनावश्यक झमेला मात्रै भएको ठहर गर्दै उनले अब एमाले आफ्नै संगठन र तागतको भरमा अघि बढ्ने बताए।

कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताको बहसलाई रोक्न निर्देशन दिए।

‘अन्य कुनै दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्रै हो,’ ओलीले भने, ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन।’

पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन आन्तरिक अनुशासन कडा बनाइने बताउँदै उनले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ घोषणा गरे।

‘केन्द्रीय कमिटीको बैठकबाट पार्टीभित्रको सन्देह सकिएको छ। अब अराजकता र अनुशासनहीनता चल्दैन,’ उनले भने, ‘विगतमा पुनर्गठनका नाममा अध्यक्ष हटाउनेसम्मका अपराधपूर्ण क्रियाकलाप भए, ती सबै क्षमा भयो तर अब क्षमा हुँदैन। पार्टी नीतिविपरीत जाने वा विपक्षीलाई रमाउने गरी बोल्ने जो कोहीमाथि कारबाही हुनेछ।’

अध्यक्ष ओलीले नेताहरूलाई कार्यक्षेत्र छाडेर राजधानी वा सुविधाभोगी ठाउँमा बस्ने ‘टुरिस्ट’ प्रवृत्ति त्याग्न निर्देशन दिए। ‘अब नेता-कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ,’ उनले भने, ‘आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट नीति एमालेसँग मात्रै छ, आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्।’

मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै उनले गत वर्ष भदौ २३ र २४ गतेका घटना, राष्ट्रिय सम्पत्ति, सिंहदरबार लगायतका संरचना र व्यक्तिको घरमाथि भएको आगजनीप्रति चिन्ता व्यक्त गरे।

गैरसंवैधानिक कदमहरूका कारण देश सङ्कटमा परे पनि एमालेले लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा मुलुकलाई फर्काउन दृढ नेतृत्व लिने उनको भनाइ थियो।

विगत फागुनको निर्वाचनमा बेहोर्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीको आन्तरिक कमजोरीका कारण भएको स्वीकार गर्दै ओलीले विपक्षीले फैलाएका भ्रम चिर्न ‘डिजिटल क्याम्पेन’ सञ्चालन गरिने बताए।

उनले डिजिटल अभिलेख, संगठन सुदृढीकरण र नयाँ सदस्यता वितरणको काम यसै महिनाभित्र सक्न निर्देशन दिए। पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालित कार्यक्रमको सहजीकरण महासचिव शंकर पोखरेलले गरेका थिए।

भर्चुअल बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, सचिवहरू पद्‌मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, डा. राजन भट्टराई लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।

प्रकाशित: १३ आश्विन २०८३ १७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App