६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देशलाई निकास दिन राजा, दल र जेन-जीबीच वार्ता हुनुपर्छ: राजेन्द्र गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र गुरुङले मुलुकमा देखिएको राजनीतिक संकटको दिगो समाधानका लागि राजा, राजनीतिक दल र जेन-जी पुस्ताबीच त्रिपक्षीय वार्ता हुनुपर्ने बताएका छन्।

बुधबार सरकार, दल र जेन-जी प्रतिनिधिबीचको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राप्रपाले यो प्रस्ताव बैठकमा विधिवत रूपमा राखेको जानकारी दिए।

‘मुलुकको निकासको लागि र देखिएको समस्यालाई समाधान गर्न राजा, दल र जेन-जी पुस्ताको बीचमा एउटा सर्वपक्षीय संवाद हुनुपर्छ भन्ने हाम्रो पार्टीको कार्यसम्पादन समितिको निर्णय थियो,’ गुरुङले भने, ‘आज हामीले त्यो कुरा विधिवत रूपमा बैठकमा प्रस्ताव राख्यौँ।’

सरकारले त्रिपक्षीय वार्ताको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै उनले यो संवादको सुरुवात मात्र भएको र यसलाई थप गम्भीरताका साथ निरन्तरता दिनुपर्नेमा जोड दिए।

बैठकमा जेन-जी पुस्ताले उठाएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबारे पनि छलफल भएको उनले जानकारी दिए। यस विषयमा राप्रपाको धारणा स्पष्ट पार्दै उनले भने, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र त्यही दलको राष्ट्रपति भएको परिस्थितिमा सन्तुलनका लागि पनि अभिभावकीय संस्थाको रूपमा राजसंस्था अपरिहार्य हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो।’

उनले हालकै अवस्थामा चुनावमा जाँदा देशले निकास नपाउने राप्रपाको ठहर रहेको बताए। ‘देशले जित्ने परिस्थिति निर्माण हुनुपर्छ। होइन भने, फेरि पनि जसरी भदौ २३ र २४ गतेको परिवर्तनलाई रोक्न सकिएन, त्यसरी नै इतिहासले बलपूर्वक अधुरो र अपुरो विद्रोहलाई पूर्ण गराउन अर्को विद्रोह निम्त्याउन सक्छ,’ उनले भने।

राप्रपा चुनावमा जाने वा नजाने भन्ने विषय परिस्थितिअनुसार निर्णय हुने तर देशले निकास पाउने सुनिश्चितता पहिलो प्राथमिकता भएको उनको भनाइ थियो।

उनले थपे, ‘अहिलेको अवस्थामा चुनाव गराउनु भनेको ८४ सालको चुनाव ८२ सालमा गराउन बाध्य भएजस्तै हो, जसले फेरि अर्को चुनाव निम्त्याउँछ। त्यसैले यी सबै कुराको निकास खोजेर मात्र निर्वाचनमा जाँदा उत्तम हुन्छ।’

आजको बैठकमा सबै पक्षले आ-आफ्ना दृष्टिकोण राखेको र कुनै ठोस निर्णयमा नपुगे पनि संवादको थालनी हुनु सकारात्मक रहेको उनले बताए।

प्रकाशित: १२ कार्तिक २०८२ २१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App