२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

चुनाव बिथोलिने सम्भावना छैन, प्रधानमन्त्रीको भूमिका प्रशंसनीय: विश्लेषक बराल

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचन बिथोलिने कुनै सम्भावना नरहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले देश चुनावमय भइसकेको र अब चुनाव नरोकिने दाबी गरेका हुन्।

निर्वाचन आउन आठ दिन मात्र बाँकी रहेको अवस्थामा देशको राजनीतिक वातावरणबारे विश्लेषण गर्दै प्रा. बरालले मतदाताहरूमा मिश्रित प्रतिक्रिया देखिएको बताए।

प्रा. बरालका अनुसार अहिले मतदाताहरूमा तीन थरीका मनोविज्ञान देखिएका छन्।

‘कतिपय मतदातामा उत्साह र लहर देखिएको छ, कतिपय निष्क्रिय र निराश छन् भने कतिपयले कसलाई भोट दिने भनेर प्रश्न उठाइरहेका छन्,’ उनले भने, ‘यो मिश्रित अवस्था हो, तर बहुदलीय प्रतिस्पर्धामा यस्तो हुनु स्वाभाविक हो।’

उनले कतिपय साना समूहले चुनाव बहिष्कार गर्ने वा बिथोल्ने भनेर सामाजिक सञ्जालमा हल्ला चलाए पनि त्यसले समग्र निर्वाचन प्रणालीलाई असर नपार्ने स्पष्ट पारे। ‘सानातिना छिटपुट घटना वा हुलदङ्गा हुन सक्लान्, तर राज्यसँग मजबुत सुरक्षा संयन्त्र छ। सानो समूहले हल्ला गर्दैमा देशव्यापी चुनाव रोकिँदैन,’ उनले भने।

अन्तरिम चुनावी सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको भूमिकाको प्रा. बरालले खुलेर प्रशंसा गरे। अघिल्लो राजनीतिक सङ्कटपछिको जटिल परिस्थितिमा कार्की नै प्रधानमन्त्रीका लागि सबैभन्दा बेस्ट अप्सन रहेको उनले बताए।

‘उहाँको चरित्रमा कुनै खोट छैन, भ्रष्टाचार गर्नुभएको छैन र उहाँ प्रस्ट वक्ता हुनुहुन्छ,’ प्रा. बरालले भने, ‘बीचमा केही मन्त्रीहरू छाडेर हिँडे पनि उहाँले सफलतापूर्वक देशलाई चुनावको सँघारमा ल्याइपुर्‍याउनुभएको छ। यो उहाँको सकारात्मक पक्ष हो।’

प्रकाशित: १३ फाल्गुन २०८२ १९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App