१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

विदेशी हस्तक्षेप केही छैन, कसरी कुरा आयो मलाई नै अचम्म लाग्या छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकार विदेशी शक्ति वा तागतले नभई भ्रष्टाचारले देश सिद्धिएको अवस्थामा जनताको आवाजबाट बनेको स्पष्ट पारेकी छन्।

नागरिक न्युजको विशेष संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै प्रधानमन्त्री कार्कीले सरकारमा विदेशी हस्तक्षेप वा प्रभाव रहेको भन्ने भाष्य गलत भएको बताइन्।

‘मलाई त थाहा छैन, यहाँ किन विदेशीले हस्तक्षेप गर्छ, विदेशीको प्रभाव छ, विदेशीले सरकार चलाउँछ भन्छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मलाई त कसैले विदेशी, देशी कसैले गाइड गरेको देख्दिनँ। कसैले आएर यसो गर, उसो गर केही भनेको पनि छैन।’

उनले आफ्नो ६ महिने कार्यकालमा विदेशी कूटनीतिज्ञहरूसँगको भेटघाट अत्यन्तै कम र औपचारिक मात्र रहेको जिकिर गरिन्।

‘मैले एक्लै कुनै पनि देशको राजदूतलाई भेटेको छैन। जति पनि भेट भएको छ, परराष्ट्र मन्त्रालयका पदाधिकारी र टन्नै स्टाफ राखेर ग्रुपमा मात्र भएको छ,’ उनले स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले थपिन्, ‘अरू एम्बेसडरले जति चोटि भेट्नुभएको छ, त्यसको अनुपातमा मैले १ प्रतिशत पनि भेटेको छैन। कसले गाइड गर्‍यो ? मलाई त कसैले गाइड गरेको छैन।’

उनले आफूलाई कसैले निर्देशित गरेको भए त्यो केवल जनताको आवाज, आफ्नो भिजन र मन्त्री तथा कर्मचारीहरूको सामूहिक सल्लाह मात्र भएको बताइन्।

‘मलाई गाइड कहाँबाट भएको छ भने पिपुलको भोइस, मेरो भिजन र हाम्रा मन्त्री तथा स्टाफहरूको सल्लाहबाट। त्यसैबाट हामी चलेका छौँ,’ उनले भनिन्।

नेपालमा विदेशी हस्तक्षेपको कुरा आफैँले बढी उचाल्ने प्रवृत्ति रहेको तर्फ सङ्केत गर्दै उनले भनिन्, ‘हामीले विदेशी हस्तक्षेप भनी भनी आफैँले पो आह्वान गरेको हो कि जस्तो देखिँदो रहेछ। मलाई त अचम्म लागिरहेछ।’

प्रधानमन्त्री कार्कीले छिमेकी मुलुकहरूसँग नेपालको सुमधुर कूटनीतिक सम्बन्ध रहेको र दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिइन्।

हेर्नुहोस् पूरा अन्तर्वार्ता :

प्रकाशित: ३ मंसिर २०८२ २२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App