मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले देशभक्तिमा आधारित राजनीतिक दल लिएर अगाडि आउने योजना रहेको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै रावलले यस्तो बताएका हुन्।
'देशभक्तहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर म मातृभूमि जागरण अभियानमार्फत क्रियाशील छु। यसलाई जारी राख्छु र आधार बलियो भयो भने एउटा देशभक्तिमा आधारित राजनीतिक दल लिएर अगाडि आउने योजना छ,' रावलले भने।
यस्तै उनले आफू गैरकम्युनिष्ट नरहेको जिकिरसमेत गरे। तर, नेपालका कम्युनिष्टहरूले कम्युनिष्ट हुनुको औचित्य नराखेको उनले बताए। 'म गैरकम्युनिष्ट भएँ भनेर भनेको छैन। तर, यिनीहरूले नेपालका कम्युनिष्ट पार्टीलाई २४ टुक्रामा विभाजन गरे। एउटा कम्युनिष्ट एउटा कम्युनिष्टसँग ठूलो शत्रु छ। विरोधीहरू महान् मित्र छन्। यत्रो वामपन्थी जनमतलाई विभाजन त यिनीहरूले गरेका छन्। अनि त्यसको के औचित्य?,' उनले सोधे।
प्रकाशित: ७ श्रावण २०८२ २०:२३ बुधबार





