२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् ।

दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्व एवं प्रमुख जिल्ला अधिकारी सहसंयोजक रहेका निर्वाचन आचारसंहिता अनुगमन समिति रहेको उनले जानकारी दिए ।  

समितिका सदस्यमा अनुगमन अधिकृतका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक एवं सुरक्षा निकायका प्रमुख रहेका उनले बताए । तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ४९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

चुनाव प्रचारप्रसारका लागि आगामी फागुन ४ देखि १७ गतेसम्म तोकिए पनि दलहरूले आफ्नो आन्तरिक तयारीस्वरुप चुनाव प्रचारप्रसार समितिका कार्यालय स्थापना एवं मतदाता भेटघाट लगायतका कार्यक्रमलाई अघि बढाएका छन् ।  

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कार्यालयले आवश्यक गृहकार्यसँगै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि पनि अनुगमन गरिरहेको जनाइएको छ ।  

 

प्रकाशित: २१ माघ २०८२ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App