१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

साझा बन्न चुकेका गगन

नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। आठ दशक लामो संघर्षपूर्ण इतिहास बनाएको कांग्रेस १५औं महाधिवेशनसम्म आइपुग्दा फेरि चिरा परेको छ।

गत पुसमा भएको विशेष महाधिवेशनले कोतरेको घाउलाई महाधिवेशनले मलमपट्टी गर्ने धेरैको बुझाइ थियो तर विशेष महाधिवेशनमा छुटेकाहरू यो महाधिवेशनमा पनि समेटिएनन्। बरु उनीहरू एउटै पार्टी, एउटै विधान, एउटै झन्डा र एउटै चुनाव चिह्नसहित अलग महाधिवेशनको अभ्यासमा जुटेका छन्। बहुदलीय व्यवस्थामा राजनीतिक दल गठन र विघटन हुनु अस्वाभाविक होइन तर मुलुकको राजनीतिक परिवर्तनको अगुवाइ गरेको पुरानामध्येको एक कांग्रेस अहिलेको अवस्थामा पुग्नु विडम्बना हो।

विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका गगनकुमार थापाले छुटेकालाई समेट्न सकेनन् कि खोजेनन् ? महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा प्रतिनिधिहरूमा यही चासो छ।

नेतृत्वमा को आउँछ होइन, कांग्रेस एक ठाउँमा आउँछ कि आउँदैन भन्ने चिन्ता र चिन्तन उनीहरूमा छ। यही प्रश्नको घेरामा छन् वर्तमान सभापति तथा अब चुनिने सभापति गगनकुमार थापा। किनकि निवर्तमान सभापति शेरबहादुर देउवासहितका नेताले विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वलाई स्वीकार गरेका छैनन्। त्यसको वैधानिकता र नेतृत्वको अधिकारबारे उनीहरूले अदालतमा प्रश्न उठाएका छन्। त्यसकै आधारमा उनीहरूले समानान्तर गतिविधि अघि बढाएका छन्।

अहिले कांग्रेसभित्रको संकट र टकराव पनि त्यही हो। यही संकटले गगनमाथि प्रश्न खडा गरेको छ। उनले कांग्रेसको नेतृत्व गर्न खोजेका हुन् कि एउटा धारको?

राजनीतिमा आफ्नो पक्ष बलियो बनाउनु खोज्नु अस्वाभाविक होइन तर असहमत पक्षलाई पनि एउटै प्रक्रियामा राख्न सक्नु नेतृत्वको क्षमता हो। गगनले आफ्नो पक्ष विस्तार गरेका छन्। देउवासँग जोडिएका थुप्रै नेता आफ्नो पक्षमा ल्याएका छन्। उनको राजनीतिक प्रभाव विस्तार भएको छ तर प्रभाव विस्तार हुनु र साझा नेतृत्व निर्माण हुनु फरक कुरा हुन्।

त्यस्तै एकता प्रस्ताव गर्नु र एकता निर्माण गर्नु पनि एउटै कुरा होइनन्। राजनीतिमा कहिलेकाहीँ आफूले चाहेको बाटोमा अर्को पक्ष आउँदैन। त्यसपछि नेतृत्वले आफ्नै बाटो अघि बढाउनुपर्ने अवस्था आउन सक्छ। अहिले गगनको त्यही तर्क छ। उनको प्रयास सिंगो कांग्रेसलाई साथमा लिएर हिँड्ने अन्तिम प्रयत्न पर्याप्त थियो कि थिएन ? यसको जवाफ इतिहासले खोज्ने छ भने देउवा पक्ष पनि यसबाट उम्कन सक्दैन।

पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई स्वीकार गर्न नसक्नु, समानान्तर संगठन बनाउनु र एउटै पार्टीभित्र अर्को महाधिवेशनको तयारी गर्नु समाधानको बाटो होइन। कांग्रेसको संकटलाई अर्को संकटले समाधान गर्न सक्दैन। विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न छ भने त्यसको समाधान विधि र संवादबाट खोजिनुपर्छ, समानान्तर संरचनाबाट होइन।

विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगनका लागि चुनौती अझ ठुलो छ। किनकि उनी परिवर्तनको दाबी गर्दै आएका नेता हुन्। परिवर्तन भनेको केवल नेतृत्वको अनुहार बदल्नु होइन। नेतृत्व गर्ने संस्कार बदल्नु पनि हो। पुरानो कांग्रेसमा गुट थियो। नयाँ कांग्रेसमा पनि गुट रहने हो भने परिवर्तन कहाँ भयो ? पुरानो कांग्रेसमा तस्करहरूको हालीमुहाली थियो, अहिले पनि तिनै र त्यस्तैको बाहुबली कायम रहे कांग्रेस कहाँ बदलियो? अनि पुरानो कांग्रेसमा असहमत राख्नेलाई शक्ति समीकरणका रूपमा हेर्ने प्रवृत्ति थियो। नयाँ कांग्रेसले पनि असहमत पक्षलाई आफ्नो प्रक्रियाबाट बाहिर राख्ने हो भने नयाँपन कहाँ रह्यो?

महाधिवेशनले गगनलाई नै सभापति बनाउने छ तर त्यसले पनि देउवा पक्षलाई स्वतः आफ्नो बनाउने छैन। निर्वाचनको परिणामले राजनीतिक असहमति समाप्त गर्दैन। बहुमतले नेतृत्व दिन सक्छ, स्वीकार्यता भने व्यवहारले निर्माण गर्नुपर्छ। बहुमतको सभापति र सिंगो कांग्रेसको सभापतिबिच फरक छ।

पहिलो हो– आफूलाई समर्थन गर्ने शक्तिको आधारमा पार्टी चलाउने। दोस्रो हो– आफूलाई अस्वीकार गर्नेलाई समेत कांग्रेसको मूलधारमा फर्काउने राजनीतिक उदारता देखाउने। पहिलो बाटो सजिलो छ। दोस्रो बाटो कठिन। त्यसैले उनले कठिन बाटो रोजेनन् तर नेतृत्वको वास्तविक परीक्षा त्यही हो। कांग्रेसको इतिहास गुटहरूबाट मात्र बनेको होइन, त्यसलाई पार गरेर पनि बनेको हो।

बिपी, मातृका कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुँदै अहिलेसम्म कांग्रेसले अनेकौं आरोहअवरोह झेलेको छ। गुट, फुट र फेरि जुट मात्र होइन, प्रत्येक पुस्ताले कांग्रेसलाई आफ्नो समयअनुसार पुनर्गठन गर्ने चुनौती बोकेका थिए र छन्। गगन पुस्तासँग पनि त्यही चुनौती छ। पुरानो पुस्तालाई विस्थापित गर्न सजिलो हुन सक्छ तर पुरानो राजनीतिक संस्कारलाई विस्थापित गर्न कठिन हुन्छ।

गगन पुस्ताले आफूलाई समर्थन गर्नेहरूको मात्र नेता बने भने पद जित्ने छन् तर साझा बन्ने अवसर गुमाउने छन्। विशेष महाधिवेशनबाट जुन परिस्थिति र अवसर आएको र पाएको एउटा अवसर उनीहरूले चुकाइसकेका छन्। महाविधेशन पनि असहमतहरूलाई सम्मानपूर्वक एउटै कांग्रेसमा फर्काउने वातावरण बनाउन सके परिवर्तनको अर्थ पाउने छ। त्यसैले गगन सभापति बन्छन् कि बन्दैनन् भन्ने अहिलेको मुख्य प्रश्न होइन, सिंगो कांग्रेसका लागि साझा नेता बन्न सक्छन् कि सक्दैनन्, देश र जनताले फेरि भरोसा गर्ने पार्टी र त्यसको नेता बन्छन् कि बन्दैनन् भन्ने विषयचाहिँ महत्त्वपूर्ण हो।

प्रकाशित: १९ आश्विन २०८३ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App