२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पुराना दलप्रतिको असन्तुष्टि हटाउने जिम्मा हाम्रो काँधमा आएको छ: विप्लव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका पुराना दलप्रति जनताको असन्तुष्टि बढ्दै गएको र त्यो असन्तुष्टि हटाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्।

आइतबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै विप्लवले भने, ‘अहिले देशको जुनसुकै कुनामा वा जसको घरमा गए पनि एउटा कुरा प्रस्ट देखिन्छ, जनताले अहिलेको भ्रष्टाचार, पराधीनता, दलाली र कमिसनखोरीबाट मुक्त भएको देश चाहन्छन्। सबै नागरिकले आफ्नो अधिकार सुरक्षित भएको र उत्पीडनमुक्त राज्य चाहन्छन्।’

जनताले पुराना दल र तिनका नेताहरूलाई पटकपटक हेरिसकेको तर उनीहरूको अवस्था र कार्यशैलीप्रति जनतामा अविश्वास, शंका र स्पष्टताको अभाव देखिएको विप्लवले बताए।

‘अहिले प्रयोगमा रहेका पार्टीहरूप्रति जनताको नजरमा अविश्वासनीयता बढेको छ। त्यहाँ प्रतिबद्धता देखिँदैन,’ उनले भने।

यो निर्वाचनमा आफ्ना प्रतिनिधिहरूले अरूले सोचेभन्दा फरक र नयाँ परिणाम ल्याउने विश्वास व्यक्त गर्दै विप्लवले भने, ‘हामीलाई जनताले जिताउनुभयो भने संसद्‌मा गएर जनताका प्रस्तावहरूलाई कानुन र नीतिमा बदलेर लागू गर्न लड्नेछौं। यदि जिताउनुभएन भने पनि सडकबाट जनताका मुद्दाहरू निरन्तर उठाइरहनेछौं।’

आफ्नो पार्टीबाट १३० जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको जानकारी दिँदै उनले जनताले नेकपा माओवादीका उम्मेदवारलाई कतै पनि अस्वीकार नगरेको दाबी गरे। ‘जनताले तिमीहरू होइन भनेका छैनन्, बरु मेहनत गर्न सल्लाह दिएका छन्,’ उनले सुनाए।

संसद्‌लाई संघर्षको मञ्चका रूपमा प्रयोग गर्ने रणनीति सुनाउँदै उनले थपे, ‘संसद् र जनताको तालमेल मिलाएर अहिलेसम्म जनताको पक्षमा नभएका निर्णयहरू गराउने र लागू गर्ने ठाउँमा लैजान्छौं। यो दलाल पुँजीवादी सत्तालाई बदल्न संसद् र सडक दुवै मोर्चाबाट संघर्ष गर्छौं।’

प्रकाशित: १८ माघ २०८२ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App