१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

भारतको विरोध गरेर राष्ट्रवादी बन्ने चलनको अन्त्य हुँदैछ: रास्वपा सांसद पन्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्त (हरि) ले भारतको विरोध गरेकै भरमा आफूलाई राष्ट्रवादी देखाउने प्रवृत्तिको बिस्तारै अन्त्य हुँदै गएको बताएका छन्।

नेपाल र भारतबीच सामान्य छिमेकीको जस्तो मात्र नभई अत्यन्तै विशिष्ट सम्बन्ध रहेको उनको भनाइ छ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आयोजित ‘वन्दे मातरम्’ को १५०औं वार्षिकोत्सवको सांगीतिक कार्यक्रममा सम्बोधन गर्दै सांसद पन्तले यस्तो धारणा राखेका हुन्।

नेपाल र भारतबीचका साझा सभ्यता, परम्परा, धार्मिक आस्था, चाडपर्व तथा पारिवारिक सम्बन्धहरूले दुई देशको सम्बन्धलाई अझ जीवन्त बनाउँदै आएको उनले उल्लेख गरे। उनले दसैं, दीपावली, छठ र होलीजस्ता पर्वहरूले दुई देशका नागरिकलाई सांस्कृतिक रूपमा नजिक बनाएको सुनाए।

नेपालले सधैं भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उनले भने, ‘अब भारतको विरोध गरेकै कारण आफू र आफूले नेतृत्व गरेको दललाई राष्ट्रवादी कित्तामा उभ्याउने परिपाटीको बिस्तारै अन्त्य हुँदैछ।’

सरकारको परराष्ट्र नीतिका बारेमा चर्चा गर्दै सांसद पन्तले नेपालले ‘चाइना कार्ड’ र ‘भारत कार्ड’ मा विश्वास नगर्ने बताए। उनले भने, ‘हाम्रो सरकारले चाइना कार्ड र भारत कार्डमा पनि विश्वास गर्दैन। आफ्नो देशको भूमि छिमेकीहरूको विरुद्ध प्रयोग हुन नदिने हाम्रो पुरानै राष्ट्रिय नीतिमा सधैं अडिग रहनेछौं।’

उक्त कार्यक्रममा भारतबाट आएका कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। सो कलाकार टोली सुश्री विजया भारतीको नेतृत्वमा नेपाल आएको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App