१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
कर्पोरेट

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर B03X को ग्राहकलाई डेलिभरी सुरु गरेको छ। प्रारम्भिक बुकिङ र ग्राहकको उत्साहजनक मागपछि कम्पनीले गाडी हस्तान्तरण थालेको जनाएको छ।

काठमाडौंमा सडक परीक्षण र औपचारिक सार्वजनिकरण सम्पन्न भएपछि पहिलो चरणका ग्राहकले B03X प्राप्त गरेका छन्। यससँगै नयाँ मोडेल नेपाली सडकमा सञ्चालनमा आएको छ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले सुरुदेखि नै B03X प्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया रहेको बताए। बुकिङको चरण पार गर्दै ग्राहकलाई गाडी हस्तान्तरण गर्न पाउँदा कम्पनी उत्साहित रहेको उनको भनाइ छ।

‘बुकिङबाट डेलिभरीको चरणमा प्रवेश गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यी चाबी हस्तान्तरण गर्नु भनेको हाम्रा ग्राहकलाई स्मार्ट तथा उच्च गुणस्तरीय विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्नु हो,’ उनले भने।

गोल्छाले कम्पनीप्रति विश्वास गर्ने ग्राहकलाई धन्यवाद दिँदै प्रतीक्षामा रहेका अन्य ग्राहकलाई पनि छिटो र सहज रूपमा गाडी उपलब्ध गराउन टोली प्रतिबद्ध रहेको बताए।

नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको B03X मा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ। गाडीमा १९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ५०५ किलोमिटरसम्मको सीएलटीसी ड्राइभिङ रेन्ज उपलब्ध रहेको छ।

यसमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट लाग्ने फास्ट चार्जिङ सुविधा रहेको कम्पनीको दाबी छ। गाडीको भित्री भागमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम तथा लेभल २ एडीएएस सुरक्षा प्रविधि समावेश गरिएको छ।

B03X मा ५१० लिटर क्षमताको बुट स्पेस रहेको छ भने पछाडिका सिट फोल्ड गर्दा यसको क्षमता बढेर १ हजार ६०५ लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।

लिपमोटरलाई विश्वव्यापी रूपमा अटोमोटिभ समूह स्टेलान्टिसको समर्थन रहेको छ। मासेराती, अल्फा रोमियो र प्युजोलगायत १४ अग्रणी ब्रान्ड स्टेलान्टिससँग आबद्ध छन्।

चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल कम्पनीका रूपमा परिचित लिपमोटरले विश्वभर १९ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिनासम्म मासिक एक लाखभन्दा बढी सवारी बिक्री भएको थियो।

लिपमोटरले ४५ भन्दा बढी देशमा रहेका दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App