१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

काठमाडौंको सनसनीपूर्ण जित, नायक बने कप्तान करण

कप्तान करण केसी र रसिद खानको उत्कृष्ट ब्याटिङप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ४ विकेटको सनसनीपूर्ण जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा जितका लागि पाएको १ सय ८१ रनको कठिन लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ५ ओभरमा ६९ रन जोड्दै काठमाडौंले २ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्‍यो।

काठमाडौंको जितमा अलराउन्डर रसिद खानले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको आक्रामक इनिङ्स खेल्दै टोलीको जितको आधार तय गरे।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात भने निकै खराब थियो। ओपनर डेभिड वार्नर १६ र स्मित पटेल ९ रनमै बोल्ड भएपछि काठमाडौं ४.१ ओभरमा २८/२ को दबाबमा पुग्यो। त्यसपछि मोहम्मद आदिल आलम (२० रन) र रसिद खानले इनिङ्स सम्हाले।

तर, ११औं र १३औं ओभरमा आदिल र भीम सार्की (५ रन) आउट भएपछि काठमाडौं ८९/४ को कठिन मोडमा पुगेको थियो। पाँचौं विकेटका लागि कप्तान करण र रसिदले केवल २४ बलमा ५० रनको विष्फोटक साझेदारी गर्दै खेल काठमाडौंतर्फ मोडेका थिए।

अन्तिम ओभरहरूमा रसिद र करण दुवै आउट भए पनि जहानदाद खानले १० बलमा अविजित २२ रन र सन्तोष यादवले ३ बलमा अविजित ५ रन बनाउँदै टोलीलाई रोमाञ्चक जित दिलाए।

कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए भने हुसेन तलतले २ तथा मार्क वाट र नन्दन यादवले १-१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको बलियो योगफल तयार पारेको थियो।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए। त्यस्तै हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० र गुलशन झाले २० रन जोडेका थिए।

काठमाडौंका बलरमध्ये कप्तान करण केसीले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक २ विकेट लिएका थिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले १-१ विकेट बाँडेका थिए।

अलराउन्ड प्रदर्शन गरेका करण र अर्धशतक बनाएका रसिद खेलका मुख्य नायक बने।

प्रकाशित: १६ कार्तिक २०८३ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App