ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाले आयोजनाको भूमिगत संरचना निर्माणका लागि यसै महिना टनेल बोरिङ मेसिन(टिबीएम)सञ्चालनमा ल्याउने भएको छ।
नेपालको निजी लगानीको जलविद्युत र हिमाली क्षेत्रमा पहिलो पटक टिबीएम मेसिनद्वारा सुरुङमार्ग सहितको भूमिगत संरचना निर्माण गर्न लागिएको हो।
आयोजना संयोजक सम्झना क्षेत्रीले कात्तिक महिनामै टिबीएम मेसिन सञ्चालनमा ल्याउने जानकारी दिइन्।
‘यो महत्त्वाकाङ्क्षा,नवीनता र प्रगतिको एक यात्रा हो,’आयोजना संयोजक क्षेत्रीले भनिन्।
टिबीएम मेसिनलाई वातावरणमैत्री र कम भन्दा कम ध्वनि प्रदूषण हुने आधुनिक युगको मेसिनको रूपमा लिने गरिन्छ।
आयोजनाको मुख्य स्थल फक्ताङलुङ गाउँपालिकामा पर्छ। यसले फुङलिङ नगरपालिका वडा नं १० लाई समेत प्रभावित क्षेत्र मानेको छ।
फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा आयोजनाको मुख्य बाँध रहने छ। वडा नं ३ लिङखिमको ठौवामा आयोजनाको विद्युत् गृह हुनेछ।
मुख्य बाँध रहने क्षेत्र तापेथोकबाट ८ हजार ३ सय ७० मिटर लामो भूमिगत(सुरुङ)मार्गमार्फत तमोर नदीको पानी विद्युत् गृह स्थल ठौवामा ल्याइने छ।
विद्युत् गृह सहितका मुख्य संरचनाहरू भूमिगत हुने आयोजनाले जनाएको छ। तमोर इनर्जी प्रालि मुख्य प्रवर्द्धक रहेको माथिल्लो तमोर जलविद्युत आयोजना स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै ठुलो क्षमताको जलविद्युत आयोजना हो। यो आयोजना अर्ध जलाशययुक्त हो।
५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी रहने छ।
आयोजनाको वित्तीय व्यवस्थापन अन्तरगत कर्जा सुविधा व्यवस्थापनको अगुवाइ एभरेस्ट बैंकले गरेको छ।
कृषि विकास बैंक र एचआईडिसिएलले कर्जा सुविधामा सहायक दायित्व लिएका छन् भने राष्ट्रिय वाणिज्य बैंक,प्रभु बैंक,नेपाल एसबिआई बैंक र गरिमा बैंक लगानी साझेदार वित्तीय संस्थाको रूपमा रहेका छन्।
आयोजना निर्माणको क्रममा २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने आयोजनाले यसअघि नै बताइसकेको छ।
प्राकृतिक विपद् र अन्य कारणबाट कामको गतिमा उल्झन नआए २०८५ साल जेठ महिना आयोजनाले निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ।
प्रकाशित: १६ कार्तिक २०८३ १७:५४ सोमबार



-600x400.jpg)

