१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
अर्थ

नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले यात्रा गरेका छन्। ती सवारीसाधनबाट करिब ११ लाख ७० हजार रुपैयाँ सडक दस्तुर संकलन भएको छ।

कात्तिक १५ गते राति १२ बजेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन थालिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए।

आयोजनाको प्रारम्भिक अनुमान दैनिक करिब पाँच हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने भए पनि पहिलो दिन नै अनुमानभन्दा बढी सवारीसाधन भित्रिएका छन्। सुरुङमार्गबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँ टोल शुल्क संकलन हुने अनुमान गरिएको छ।

हाल सवारीसाधनलाई चार वर्गमा विभाजन गरी शुल्क तोकिएको छ। काठमाडौं प्रवेश गर्दा हलुका सवारीसाधनले ६५ रुपैयाँ र फर्कँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा मझौला–ठूला ट्रकका लागि प्रवेशमा २६० र फर्कँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने मोटरसाइकललाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

टोल संकलनका क्रममा जाम हुन नदिन नगद, क्यूआर कोड र आरएफआईडीमार्फत शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ। नियमित प्रयोगकर्तालाई आरएफआईडी प्रणालीमा आबद्ध हुन आयोजनाले आग्रह गरेको छ।

सुरुङमार्गमा दुर्घटना वा अन्य आपत्कालीन अवस्था आए तत्काल उद्धारका लागि दुई एम्बुलेन्स, दुई टोइङ भेहिकल र १६ जना जनशक्ति २४ घण्टा परिचालन गरिएको आयोजनाले जनाएको छ। स्थानीय तथा नियमित प्रयोगकर्तालाई टोल शुल्कमा छुट दिने विषयमा पनि गृहकार्य भइरहेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App