नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो नहुने बताएका छन्।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए। 'एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टी भित्रका कमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन,' उनले भने।
सिंहले पार्टीको संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जोड दिए। कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियो बनाउनुपर्ने बताए।
त्यस्तै उपप्रधानमन्त्री सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताए। मधेसमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन पनि कारण रहेको भन्दै उनले सरकारले मधेसमा देखिएको पानीको समस्यामा सरकार गम्भीर रहेको बताए।
प्रकाशित: ७ श्रावण २०८२ १३:४९ बुधबार





