६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेनले भने- सुविधासहित खुल्लामञ्च सधैंका लागि खुला

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले ऐतिहासिक खुल्लामञ्चलाई अतिक्रमणमुक्त गरी हरियाली र सुविधासहित सधैंका लागि आम नागरिकको निम्ति खुला गरिएको घोषणा गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले लामो समयदेखि विभिन्न बहानामा अतिक्रमणमा परेको खुल्लामञ्चलाई पुनः खुला सार्वजनिक स्थलको रूपमा पुनर्स्थापित गरिएको जानकारी दिएका हुन्।

मेयर साहका अनुसार करिब ९० लाख रुपैयाँको लागतमा खुल्लामञ्चको १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक नेपाली दुबो रोपेर आकर्षक घाँसे चौर निर्माण गरिएको छ।

यो कार्य महानगरको ‘खेलकुद पूर्वाधार मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति’ कार्यक्रम अन्तर्गत सम्पन्न भएको हो। यसका लागि महानगरले आफ्ना सबै वडामा करिब ७ करोड रुपैयाँ विनियोजन गरेको छ।

खुल्लामञ्चलाई थप व्यवस्थित र आकर्षक बनाउन चौरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिएको छ।

पैदल मार्गमा सहरका अन्य स्थानबाट निकालिएका पुराना हेक्जागोनल ब्लकहरूलाई पुनःप्रयोग गरिएको छ। त्यसैगरी, रात्रिकालीन समयमा समेत मञ्च उज्यालो बनाउन न्यूरोडबाट निकालिएका पुराना २१ वटा बिजुलीका पोलहरू जडान गरिएको छ।

‘डे-नाइट सेन्सर’ युक्त यी पोलहरूमा मैदानतर्फ १०० वाट र पैदल मार्गतर्फ ३० वाट क्षमताका बत्तीहरू जडान गरिनेछ। जुन रात परेपछि आफैं बल्ने र दिनमा आफैं निभ्नेछन्।

विगतमा काठमाडौं टावर निर्माणका लागि बसपार्क सञ्चालन गर्न र २०७२ को भूकम्पपछि वीर अस्पताल तथा दरबार हाइस्कूल पुनर्निर्माणका लागि निर्माण सामग्री भण्डारण र श्रमिक आवासका रूपमा प्रयोग हुँदै आएको यो ऐतिहासिक स्थल अब भने आफ्नो मौलिक स्वरूपमा फर्किएको छ।

महानगरपालिकाले सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँगको सहकार्यमा २०८१ वैशाख २४ गतेदेखि खुल्लामञ्चको स्तरोन्नति कार्य थालेको थियो।

मैदानमा पानी जम्ने समस्या समाधान गर्न सतह मिलाउनुका साथै ६ स्थानमा ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिएको छ।

मेयर साहले अब खुल्लामञ्च सबै उमेर समूहका नागरिकका लागि बहुउपयोगी स्थल बन्ने बताए। यो स्थल बिहानको शारीरिक अभ्यास, बालबालिकाको खेलकुद, युवाहरूको प्रशिक्षण, र ज्येष्ठ नागरिकहरूका लागि टहल्ने तथा आराम गर्ने खुला गन्तव्य हुनेछ।

साथै, भलिबल र ब्याडमिन्टन जस्ता खेल खेल्न सकिने गरी छुट्टै पार्किङ क्षेत्र पनि तयार पारिएको छ।

प्रकाशित: २७ कार्तिक २०८२ २०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App