नेपाली कांग्रेसको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि की पछि वा विशेष महाधिवेशन भन्नेमा अझै सहमति जुट्न सकेको छैन ।
कांग्रेसभित्र महाधिवेशनको विषयले परेको गाँठो फुकाउन विभिन्न तहका नेताहरूले सहमतिको प्रयास गरेपनि साझा विन्दु अझै फेला परेको छैन । सहमतिका लागि नेताहरूले पछिल्लो एकसाता देखि गरेको प्रयास निरर्थक बन्न पुगेको हो ।
नेताहरू आआफ्नै अडानमा कायमै रहेका छन् । असोज २८गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अघिल्लो बिहीबार सदस्यहरूले बोल्ने क्रम सकिएको थियो ।
त्यसपछि सहमतिका लागि भन्दै केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।तर, नेताहरू महाधिवेशनका विषयमा कुनै सहमतिमा अझै पुगेका छैनन् ।
महाधिवेशनको विषय पेचिलो बन्दै गएका बेला संस्थापन पक्षका पूर्व उपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, गुरु बराल, गोविन्द भट्टराई, नैनसिंह महरसहित साठी बढि सदस्यहरूको बुधबारको भेलाले बैशाखमै नियमित महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याएका हुन् ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने निष्कर्ष निकाल्दै उनीहरूले पार्टीले यस विषयमा निर्णय गर्न विलम्ब गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
तत्काल निर्वाचनमा भाग लिने निर्णय लिन नेतृत्वलाई आग्रह उनीहरूले बैशाखमा पार्टीको १५औं नियमित महाधिवेशन गर्न सहमति नजुटे बहुमतबाट भएपनि निर्णय लिनुपर्ने निष्कर्ष निकालेका छन् ।
भदौ २३ र २४ गतेको विद्रोहपछि संविधान क्षतविक्षत बनेको र प्रतिनिधिसभा असंबैधानिक ढंगबाट विघटन गरिएको भन्दै संस्थापन पक्षका नेताहरूले संविधानको रक्षा र निर्वाचनमार्फत संसद्को पुनःस्थापना नै पार्टीको अहिलेको मुल नीति हुनुपर्ने तर्क गरेका छन् । पार्टीको नेतृत्व परिर्वतन प्रक्रियासुरु भइसकेको र महाधिवेशनबाट नयाँ नेतृत्व आउने उनीहरूको दाबी छ ।
उता विशेष महाधिवेशन पक्षधरले अविलम्ब विशेष महाधिवेशनको मिति र स्थान माग गरेका छन् । उनीहरूले बुधबार पत्रकार सम्मेलन गर्दै अब नअलमलिन र नअलमलाउनु आग्रह गरेका छन् । पार्टी विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन बोलाउनुको विकल्प नभएको जनाउँदै कांग्रेस रुपान्तरणका लागि आफूहरूले केवल महाधिवेशनको कार्यतालिकामात्रै नखोजेको उनीहरूले दाबी गरेका छन् ।
पार्टीका दुई पक्षका नेताहरू आफ्नो अडानमा रहेका बेला नेता शेखर कोइरालाले भने पुस अन्तिममा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने तर्क गर्दै आएका छन् । र, त्यसले नै विशेष महाधिवेशन पक्षधरलाई पनि सम्बोधन गर्ने जनाउँदै उनले सहमतिका लागि नेताहरूसँगको छलफललाई तीब्र बनाएका छन् । सहमतिबाट बाहेक कोइराला विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । त्यसले पार्टीलाई विभाजनतर्फ लैजानसक्ने उनले चिन्ता व्यक्त गर्दै आएका छन् । पुस १६ गते देखि नियमित महाधिवेशनको कार्यतालिका पेश गरेका महाममन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने उक्त तालिकामा महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने पर्ने पक्षमा छन् ।
त्यसमा पार्टीले निर्णय नलिएर महामन्त्रीबाट राजीनामा गर्ने तयारीमा रहेको निकटहरूको दाबी छ । यहीबिचमा बिहीबार बस्ने केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि दल दर्ताको निर्णय लिने नेताहरूले जनाएका छन् । महाधिवेशनसहितका विषयमा सहमति खोज्न राति अवेरसम्म पनि नेताहरू दुई पक्ष र बहुपक्षीय छलफलमा जुटी रहेका छन् ।
प्रकाशित: ३ मंसिर २०८२ २१:१४ बुधबार


-600x400.jpg)


