नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्धारित समयमा नहुने पक्कापक्की भएपछि विशेष महाधिवेशनको मुद्दा फेरि बल्झिएको छ। महामन्त्री गगन थापाले नै शुक्रबार अब विशेष महाधिवेशन ‘अनिवार्य’ बनेको बताएका हुन्।
क्रियाशील सदस्यताको विषय जिल्ला–जिल्लामा नटुङ्गिँदा निर्धारित कार्य तालिका अनुसार १५ औँ महाधिवेशन प्रक्रिया सुरु नहुने देखिएको हो। कांग्रेसमा हालसम्म पनि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम सकिएको छैन।
निर्धारित कार्य तालिका अनुसार पुस १६ गते वडा अधिवेशनको मिति तय छ। तर, त्यसअघिका सबैजसो तयारीका काम पूरा नभइसकेकाले वडा अधिवेशन हुन असम्भव बनिसकेको छ। यस्तै पुस २६ गतेदेखि हुने भनिएको केन्द्रीय महाधिवेशन पनि लगभग असम्भव देखिएको अधिकांश नेताहरूको बुझाई छ।
यही बेला पार्टी केन्द्रीय कार्यालयमा तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। जसको एक एजेन्डा महाधिवेशनकै कार्य तालिका संशोधन पनि रहेको छ। कार्य तालिका संशोधनबारे पनि कांग्रेसमा एक मत देखिएको छैन।
संस्थापन पक्षका नेताहरूले फागुन २१ को निर्वाचन अगाडी अब महाधिवेशन सम्भव नभएकाले निर्वाचन पछाडि सार्नुपर्ने मत राखिरहेका छन्। बरु त्यसअघि वडा अधिवेशनका प्रक्रिया पूरा गर्न सकिने उनीहरूको मत छ।
डा. शेखर कोइराला पक्षधर नेताहरू महाधिवेशन मिति केही पर सार्नुपर्नेमा सहमत छन्। तर, निर्वाचन अघि नै महाधिवेशन हुनुपर्ने नेता कोइरालाको अडान छ।
यता महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने पुसभित्र नियमित महाधिवेशन सम्भव नभएकाले अब विशेष महाधिवेशन नै गर्नुपर्ने निष्कर्षमा पुगेको देखिन्छ।
यसैबिच शुक्रबार विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा स्मरण पत्र बुझाएका छन्। विशेष पक्षधर नेता देवराज चालिसे नेतृत्वको टोलीले स्मरण पत्र बुझाएका हुन्।
स्मरण पत्र बुझाउन आएका नेताहरूलाई सम्बोधन गर्ने क्रममा नै महामन्त्री थापाले अब विशेष महाधिवेशनको अनिवार्य बनेको प्रतिक्रिया दिएका हुन्। पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौँ।विधान नमान्ने सुविधा कसैलाई पनि छैन,’ उनले भनेका छन्।
विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमिति भित्रको अनिवार्य जिम्मेवारीभित्र परेको पनि उनले बताए। उनले अगाडी भने, ‘यो ऐच्छिक विषय रहेन। १५ औँ महाधिवेशन भएको भए यो मागको आफैँ सार्थकता सकिन्थ्यो। तपाईँको मागलाई सम्बोधन गर्नु अनिवार्य हुन्छ।’
अब विशेष महाधिवेशनको अनिवार्य विषयलाई केन्द्रीय समितिले काम गर्ने गरी प्रस्तुत गर्ने महामन्त्री थापाले बताए।
प्रकाशित: ११ पुस २०८२ १७:२३ शुक्रबार





