१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकार निर्वाचनको तयारी छोडेर नेताहरूमाथि पूर्वाग्रह साध्न लागि परेको छ : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन्। ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पूर्व पार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरेको छैन।’  

कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हो भने जेनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए।  

कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने, अहिलेको अस्थिरतालाई बढाउने काम गरिरहेको आरोप लगाए। ‘हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुला छौँ,’ उनले भने, ‘तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छ, यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ 

सो अवसरमा कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने पनि बताए।

प्रकाशित: ४ कार्तिक २०८२ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App