प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बेलामा गरिएका कबुलअनुसार सरकार अगाडि बढ्न नसकेको बताएका छन्। सोमबार (आज) संसद्मा बोल्दै दाहालले यस्तो बताएका हुन्।
'शान्ति प्रक्रियाको बेलामा जस्तो कबुल गरेका थियौँ, के हामी त्यो दिशातिर नै अघि बढिरहेका छौँ ? त्यतिबेला जे सपना देखेका थियौँ, हामी सबै त्यस दिशामा अगाडि बढेका छौँ त ? संविधान निर्माणका बेला घनीभूत छलफल गरेर जनताका बीचमा प्रतिबद्धता गरेका थियौँ, आज सर्वत्र भ्रष्टाचार, अराजकता र बेथितिले देश परिवर्तनको ठीक उल्टो दिशातिर अगाडि बढेको छ। सच्चिनका लागि कठोर निर्णयका लागि प्रतिबद्धता जनाउनुपर्छ,' उनले भने।
उनले लोकतन्त्र बलियो बनाउनेमा मुख्य जोड हुनुपर्ने बताए। 'सार्वजनिक सेवामा निरन्तरत तत्परता देखाउनुपर्ने, समाजका उपेक्षित वर्ग, जाति र समुदायका लागि सरकारबाट विशेष संरक्षणमुखी कार्यक्रम लागू गरिनुपर्ने, सङ्घीयता बलियो बनाउने र त्यहीअनुरूप कानून बनाएर कार्यान्वयनमा तत्परता देखउनुपर्ने, सामाजिक न्यायका लागि काम गर्नुपर्ने आवश्यकता छ,' उनले भनेका छन्।
दाहालले सरकार दलालहरूको सेवामा रहेको आरोपित पनि गरे। 'सरकारले सङ्ख्याको दम्भमा जसरी कुशासनका पहाड ठडिए, जसरी दलाल र बिचौलियाको पक्षमा सरकार नतमस्तक बन्यो, सरकार आज बिचौलियाको स्वार्थपूर्तिमा छ भन्ने कुरा आम नागरिक र सत्तारूढ दलकै भाषा बन्न पुगेको छ। प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ,' उनले भने।
प्रकाशित: ३० असार २०८२ १४:१५ सोमबार





